धनगढीको कनरी पार्क डेढ बर्षसम्म सञ्चालन भएन
धनगढी : संघीय सरकारको पौने तीन करोडको लगानीमा निर्माण भएको धनगढीको कनरी पार्क सञ्चालन हुन सकेको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १५ मा कनरी पार्क निर्माण सम्पन्न भएको डेढ बर्ष पुगे पनि अझै सञ्चालनमा नल्याईएको हो। नमूना सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको पार्क १० बर्षसम्मका लागि नीजि क्षेत्रलाई सञ्चालनका लागि दिन खोजिएको भन्दै वनका उपभोक्ताले विरोध जनाएका थिए।
झण्डै एक बर्ष अगाडि उप–महानगरपालिका स्वामित्व ग्रहण नगर्दै एकै पटक १० बर्षका लागि नीजि क्षेत्रलाई पार्क सञ्चालनका जिम्मेवारी दिने प्रक्रिया अगाडी बढाएको थियो। सो समयमा स्थानीयले विरोध जनाएपछि पार्क सञ्चालनका लागि अहिले कुनै प्रक्रिाय अगाडी बढेको छैन्।
संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सघन सहरी विकास कार्यक्रम अन्तरगत कनरी पार्क निर्माण गरेको थियो। दुई करोड ७४ लाखमा पार्क निर्माणका लागि देवसिँह/एलबि जेभिसंग २०७४ असार ३० गते सम्झौता अनुसार डेढ बर्ष अगाडि नै निर्माण सकिएको कनरी पार्क अझै सञ्चालन भएको छैन्।
नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी कैलाले पार्क सञ्चालनका लागि उप–महानगरपालिकाले एक पटक मात्र छलफल गरेको बताइन्। उनले भनिन्, ‘पार्क सामुदायिक वन क्षेत्रमा निर्माण भएको छ। पार्कमा पर्खाल लगाउन थालिएको थियो। हामीले बिरोध गरेका हौ। सामुदायिक वनसंग भएको सम्झौता अनुसारको पनि काम भएको छैन्।’
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइका सूचना अधिकारी श्यामचन्द्र बुढाथुकीले पार्कको निर्माण पछि उप–महानगरपालिकालाई हस्तान्तरण गरिएको बताए। ‘पार्क निर्माण सकिएपछि उप–महानगरपालिकालाई हस्तान्तरण गरेका थियौ। उहाँहरुले ठेक्काको प्रक्रिया समेत सुरु गर्नु भएको थियो। कुन कारणले हो त्यो पूरा भएन्। अब पार्क सञ्चालनको दायित्व उप–महानगरपालिकाको हो।’ उनले भने।
उप–महानगरपालिकाले नीजि क्षेत्रलाई पार्क सञ्चालनको जिम्मेवारी दिन १५ दिनको म्याद राख्दै साउन २२ गते आशय पत्र प्रकाशन गरेको थियो। तर स्थानीयले पार्क निर्माण अघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेपछि उक्त प्रक्रिया रोकिएको थियो। दुई करोड ७४ लाखमा निर्माण गरिएको कनरी पार्क भित्र दुई वटा पोखरी, तीन वटा बनभोज स्थल, मन्दिर लगायतका रमणीय संचनाहरु निर्माण गरिएका छन्।
प्रयोग विहिन भएका संरचना सञ्चलका लागि छलफलमा रहेको उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। उनले भने, ‘कनरी पार्क सञ्चालनका लागि स्थानीयसंग छलफल गरेका छौ। अझै गर्नुपर्ने छ। कुन मोडलमा सञ्चालन गर्ने अन्यौलता छ।’