दार्चुलामा फेरी पहिरो, दुई जनाको मृत्यु, तीन जना घाईते
दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।
घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडासदस्य केशवसिह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट शव निकालिएको छ।
यस्तै पहिरोमा परि घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाईते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जिवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए।
घाईते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले जानकारी दिए। घाईतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो गएको हो।
पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाई हुन्। उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुर पस्ती आएका हुन्। वडा नम्बर ८ को वडा कार्यालयको फिल्ड र शौचालय भत्किएपछि लक्ष्मीको घर पुरिएको हो। यस्तै पहिरोले शुविरसिह धामी र हरसिह धामीको पसलमा क्षति पुगेको छ।