सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाको निर्माण कम्पनीले काम थाल्यो

२०७७ साउन ५, ०७:०२ खबर संवाददाता

धनगढी: संघीय सरकारको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले कालिका कन्ट्रक्सनले प्रारम्भीक चरणको काम सुरु गरेको छ।

कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलका अनुसार चौराहादेखि कैलाली नाला सम्मको सर्भेको काम पुरा भएको छ। त्यसैगरी गुल्म–चर्च सडकको सर्भे अन्तीम चरणमा पुगेको छ भने शहिद गेट देखि क्याम्पस रोड सडको ३ दशमलव ५ किलो मिटर मध्य २ दशमलव ५ किलोमिटर सर्भेको काम पुरा भएको छ।

क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले गए असार २८ गते आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ। ४२ किलोमिटर सडक निर्माणको योजना रहेकोमा १० किलोमिटर सडक निर्माणका लागि मात्रै सम्झौता भएको छ। 

गुल्म –चर्च रोड (२ हजार ७ मिटर), ट्राफिक चौराहा देखि –कैलाली नालासम्म ( १ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर), क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर), धनगढी – खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ), मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा संचालन भएको आयोजना अन्तरगतका अन्य योजनाको काम भने सुरु भएको छैन्।
 

कमेन्ट लोड गर्नुस