धनगढी घर र बैँकको शाखा अधिकृत भएको भन्दै १० लाख ठगी गर्ने दुई जना पक्राउ
धनगढी : बैँककको शाखा अधिकृत भन्दै १० लाख ठगी गरेको आरोपमा कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षिया सञ्जाकुमारी कठायत रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको हो। उनीहरुले कैलालीको टीकापुर नगरपालिकाकी ४४ बर्षीया महिलालाई आफुहरु नेपाल बैंक लिमिटेडको अधिकृत भएको भन्दै १० लाख ठगेको आरोप लागेको छ।
१० लाख दिएमा साढे तीन करोडको लोन पास गरिदिन्छु भन्दै दुवै जनाले महिलालाई ठगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
‘पीडित महिलालाई धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा घर भएको, बुवाको भूकम्पमा मृत्यु भएको, आफु नेपाल बैँक लिमिटेडको शाखा अधिकृत भएको भन्दै तीन करोड ५० लाखकाको लोन पास गर्ने आश्वासन दिएर १० लाख ठगेको भेटिएको छ।’ प्रहरी उपरिक्षक विष्टले भने।
उनीहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आई।एम।ईका भौचर समेत बरामद गरिएकाको कैलाली प्रहरी प्रवक्ता बिष्टले बताए। ठगी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप समेत गरिएको छ।