डडेल्धुराको अजयमेरु गाउँपालिकामा खानेपानी शुद्धता नाप्ने प्रयोगशाला स्थापना
धनगढी: डडेल्धुराको अजयमेरु गाउँपालिकामा पानीको शुद्धता तथा परीक्षण गर्ने प्रयोगशाला स्थापना गरिएको छ। पानीको शुद्धता नाप्ने प्रयोगशाला स्थापना भएसँगै स्थानीयले निर्माण गरिरहेको खानेपानी आयोजनाको शुद्धता समेत नापिने जनाइएको छ।
प्रयोगशालामा पानीमा धमिलोपना केमिकलजन्य पदार्थ तथा दिशाजन्य पदार्थ र कोलोरिनको मात्रा जाँच गरिने गाउँपालिकाले जनाएको छ। योजनाबाट नमुनाका रुपमा ल्याइएको पानी ल्याबमा २४ घण्टाभित्र परीक्षण गरिने गाउँपालिकाले जनाएको छ।
खानेपानी जाँच नहुँदा गाउँपालिकामा बेलाबेलामा झाडापाखाला, आउँ, हैजाजस्ता रोगहरु देखापर्ने गर्थे। र, खानेपानीको शुद्धता जाँच गर्न धनगढी अथवा अन्य ठाउँमा पठाउनुपर्ने झन्झट समेत रहेको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताए। उनले भने, ‘गाउँपालिकामै पानीको शुद्धता परीक्षण गर्न ल्याब स्थापना गरेका छौं, अब धनगढीलगायतका स्थानमा खानेपानीको शुद्धता जाँच गर्न पठाउनुपर्ने समस्या सधैको लागि समाप्त भएको छ।’
ग्रामिण जलस्रोत परियोजनाको सहयोगमा प्रयोगशाला स्थापना भएपछि गाउँपालिकामा रहेका खानेपानीका मुल तथा आयोजनाका पानीको शुद्धता जाँच गरी सूचकआधारमा पिउनयोग्य बनाइने अजयमेरु गाउँपालिकाले जनाएको छ।
यसअघि ग्रामीण क्षेत्रमा खानेपानी पिउन योग्य छ वा छैन भन्ने बारे कसैलाई जानकारी थिएन।