पहिरोमा ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत
पोखरा : जिल्ला प्रशासन कार्यालयले कास्कीले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख राहत दिने भएको छ।
शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँ राहत र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय गरेको हो।
कास्कीमा बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
उनीहरुको पोखराकै मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।