सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनासम्म विष्फोटक पदार्थ प्रयोग भएन

२०७५ साउन ६, ०६:३७

तीन वर्षदेखि विष्फोटक पदार्थ अभावले गति नलिएको दार्चुला तिंकर सडकमा विष्फोटक पदार्थ पुगेको झण्डै एक महिना पुग्नै लाग्दा समेत प्रयोग हुन सकेको छैन् । नेपाली सेनाको सुरक्षामा जिलेटिनको प्रयोग हुने भएपछि सडक निर्माणले गति लिन सकेको छैन । तीन वर्षदेखि नेपाली सेनाले तिंकर सडकका लागि पूर्व सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि सडक निर्माण प्रभावित बन्दै आएको थियो । पछिल्लो समय बझाङ जिल्लामा निर्माणाधिन कालांगाड जलविद्युत आयोजनाबाट ९ दशमलव ३ मेट्रिक टन अर्थात ९ हजार ३ सय किलोग्राम जिलेटिन तिंकर सडकका लागि गत असार १० गते दार्चुला ल्याईए पनि प्रयोग हुन सकेको छैन ।
यसअघि नेपाल प्रहरीको टोलीको सुरक्षा व्यवस्थापनमा जिलेटिन प्रयोग हुँदैआएकोमा पछिल्लो समय नेपाली सेनाको सुरक्षा घेरामा मात्रै विस्फोटक पदार्थको प्रयोग हुने भएको छ । सुरक्षा सम्बेदनशिलताका कारण सेनाको उपस्थितीमा मात्रै प्रयोग गर्न पाउने निर्णय अनुसार तिंकर सडकमा विष्फोटक पदार्थ प्रयोग हुन नसकेको हो । झण्डै एक महिनासम्म विष्फोटक पदार्थ प्रयोग नहुँदा आर्थिक वर्ष ०७४÷०७५ मा पनि सडकले गति लिएन् भने यस आर्थिक वर्षमा पनि प्रयोग नहुने हो भन्ने स्थानीयमा चिन्ता थपिएको छ । विष्फोटक पदार्थको लागि केहि दिन अघि दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर तत्काल निकासा दिन माग गर्दै ज्ञापन बुझाएका थिए । यस्तै गृह जिल्ला आईपुगेका प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यलाई भेटेर प्रक्रिया अघि बढाउन भनिएको बताए । 

जिल्लास्थित दुर्गादल गुल्म दार्चुलाले आईतबार मात्रै आवश्यक समझदारी सहितको परिपत्र नेपाली सेनाका मुख्यालय पठाएको गुल्मपति गणेश रावलले बताए । अहिलेसम्म विष्फोटक पदार्थ आएपनि प्रक्रिया पु¥याईएको थिएन । तिंकर सडकले बल्ल कागजात उपलब्ध गराएपछि मुख्यालय पठाएका छौ, उनले भने । नेपाली सेनाले सुरक्षा योजना अनुसार कागजात तयार पारी मुख्यालय पठाएको जनाएको छ । मुख्यालयमा परिपत्र भईसकेको कारण अब एक साता भित्र विष्फोटक पदार्थ प्रयोग गर्न सकिने उनको भनाई छ । विष्फोटक पदार्थ अभावमा राताकाठा सडक विस्तार हुन सकेको छैन् भने पिपलचौरीको भीरमा सडकको ट्रयाक खुलाउन सकिएको छैन् । निर्माण व्यवसायीले विष्फोटक पदार्थ आएदेखि नै प्वाल बनाउने काम गरेका छन्, दार्चुला तिंकर सडक योजनाका सूचना अधिकारी दिनेश रैखोलाले भने– आइतबार सबै प्रक्रिया पूरा गरेका छौ, अब तीन चार दिन भित्र प्रक्रिया अघि बढ्न सक्छ । उनले तिंकर सडकमा विष्फोटक पदार्थ अभावले रोकिएको काम अब तिव्रता दिईने बताए । तिंकर सडकमा विष्फोटक पदार्थ डिस्पोज गर्नको लागि झण्डै १० जना नेपाली सेना पठाइने गरी सम्झौता भएको छ । यसअघि नेपाली सेनाले तिंकर सडक योजना निर्माणका लागि २० मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म एक चौथाई अर्थात ५ दशमलव ७ मेट्रिक टन जिलेटिन मात्रै उपलब्ध गराएको थियो ।
दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकरसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । हालसम्म खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोलिएपनि कामले गति लिएको छैन । हालसम्म २५ किलोमिटर क्षेत्रको मात्रै ट्रयाक खुलाईएको छ । काग्रेंसका केन्द्रीय सदस्य एवम्ं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले तिंकर सडक खुलाउन पहल गर्ने बताए । विगतको विष्फोटक पदार्थ अभाव समस्या समाधान भएको छ । 
 

कमेन्ट लोड गर्नुस