नेकपालाई व्यक्तिप्रधान बन्न नदिन धनगढीमा युवाको भेला
धनगढी: बुधबार धनगढीमा राष्ट्रिय युवा संघका नेताहरुले भेलाको आयोजना गरेका छन्। राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिपक सिंह र केन्द्रीय सदस्य सुरज खातीको नेतृत्वमा युवा भेलाको आयोजना भएको हो।
पार्टीलाई व्यक्ति प्रधान होइन नीति प्रधान बनाउन माग गर्दै भेला गरेको युवा संघ केन्द्रीय सदस्य दिपक सिंहले बताए। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कैलाली जिल्ला पार्टी कार्यालयमा आयोजना भएको भेलामा पार्टीका प्रदेश कमिटी सदस्य रमेश धामी, राजेश भण्डारी, डिएल भण्डारी, जिल्ला कमिटिका युवा नेता दीर्घ जोशी र दुर्गा जोशीले मन्तव्य राखेका थिए।
यस्तै कार्यक्रममा विद्यार्थी नेता युवराज कुँवर, डम्मर भट्टराई, युवा बावूराज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। भेलामा बोल्ने अधिकांश वक्ताले पार्टीलाई एकताबद्ध बनाउन युवाहरु जुट्नुपर्ने धारणा राखेका थिए। केन्द्रीय सदस्य सुरज खातिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिपक सिंहले गरेका थिए।