कैलालीको पहलमानपुर–लालबोझी सडकको दुर्दशा, वडाध्यक्ष नै लडे
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को कार्यालय पहलमानपुर–लालबोझी सडक खण्डमै छ। वडा अध्यक्ष दानसिंह जोगी बुधवार राति सोही सडक खण्डमा लडे। ‘पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नै छैन्,’ वडा अध्यक्ष जोगीले भने, ‘बुधवार त म आफैँ पनि सोही सडक खण्डमा लडे।’
उनले सडक हिलाम्य भएपछि मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन नसकेको जानकारी दिए। ‘नगरपालिकाले ग्रावेलका लागि भन्दै पाँ लाख बजेट बिनियोजन गरेको छ। कालोपत्रेका लागि ३० लाखको टेण्डर हुने हल्ला छ तर अहिलेसम्म प्रक्रिया अगडि बढेको छैन्।’
पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर मात्रै उक्त सडक कालोपत्रे भएको छ। सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको स्थानीय प्रताप चौधरीले बताए। ‘५ सय मिटर मात्रै सडक कालोपत्रे भएको छ,’ चौधरीले भने, ‘बाँकी सडकमा खाल्डाखुल्डी मात्रै छन्। हिलोले पैदल हिड्न समेत समस्या छ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले पनि उक्त सडकलाई चुनावी नारा बनाएका थिए। लालबोझी–पहलमानपुर सडकका स्तरोन्नतिका लागि भन्दै उनले बजेट समेत बिनियोजन गरेका थिए तर सडकको भने दुर्दशा छ।
सबै फोटो : प्रतापसिंह चौधरी