सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाद्वारा सुदूरपश्चिम स्पोर्टस अवार्डलाई बजेट

२०७७ असार १७, ०२:४१ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना सुरु गरेको सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७७÷७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो।

धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभामार्फत आर्थिक वर्ष २०७७÷७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिइन्।  ‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ ’ उपमेयर भट्टले भनिन्–‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ। आगामी वर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्ड कार्यक्रमको बजेटलाई निरन्तरता दिनेछौं।’

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ। उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो। स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको छ। 

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए। नीति तथा कार्यक्रममा समावेश गरेर उपमहानगरपालिकाले त्यसको लागि बजेट विनियोजन गरेर स्पोर्टस अवार्डको आयोजना थालेकोमा स्थानीय सरकारको तर्फमा सहयोग गरेको उनको भनाई छ। ‘यहाँको प्रदेश सरकारले पनि केही नगरेको भन्ने कुरा आयो। अन्य स्थानीय तहहरुले पनि सहयोग नगरेको पाए’ मेयर ओडले भने– ‘राम्रो काममा सवैले सहयोग र साथ दिनुपर्छ भने स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरिएको हो। प्रदेशका खेलाडीहरुका लागि गरिएको कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारहरुलाई पनि सहयोगका लागि आग्रह गर्दछौं।’ 

प्रदेश सरकारले गत मंसीरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने तयारी गरेको छ। तर आफुहरुले आयोजना सुरु गरेको स्पोर्टस अवार्ड सरकारहरुले गर्नुपर्ने आफुहरुले आयोजना गर्दा पनि कुनै स्थानीय तह र प्रदेश सरकारले सहयोग नगरेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए।

‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई हौसला वढाउन स्पोर्टस अवार्डको सुरुवात गर्दा आजसम्म एक रुपैयाँ पनि प्रदेश सरकारको तर्फबाट सहयोग भएको छैन्। अधिकांश स्थानीय तहले सहयोग गरेका छैनन् तर हामी यो अवार्डलाई बर्षेनी आयोजना गर्न पछि हट्नेछैनौं’ महासचिव पाठकले भने– ‘धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिन चाहन्छौ। यसले हाम्रो हौसला बढेको छ। हामीलाई सामाजिक काम गर्नका लागि यस ठाउँको निजि क्षेत्रले सहयोग गरेको छ। उनीहरुको फेरिपनि सहयोग हुने अपेक्षा गरेका छौं। प्रदेश सरकार र स्थानीय सरकारले दिने आश पनि मारिसकेका छौं।’ 

उनका अनुसार देशका अन्य प्रदेशहरुमा विगतका वर्षहरुदेखि स्पोर्टस अवार्ड आयोजना हँुदै आएको छ। सुदूरपश्चिम प्रदेशमा त्यो नभईरहेको अवस्थामा अघिल्लो बर्षदेखि थालनी गरेको उनले बताए। नेपाल खेलकुद पत्रकार मञ्चले देशको प्रतिनिधित्व गर्दै अन्तराष्टिय क्षेत्रमा उत्कृष्ट प्रदान गर्ने खेलाडीहरुलाई स्पोर्टस अवार्ड मार्फत सम्मान गर्दै आएको छ। 

अन्य स्थानहरुमा प्रदेश स्तरीय अवार्ड कार्यक्रमहरु आयोजना हुदै आएकोमा त्यहाँका प्रदेश सरकारहरुले ५ देखि १० लाख रकमसम्म विनियोजन गर्दै आएका छन्। तर सुदुरपश्चिम सरकारले सहयोगको नाममा एक रुपैया पनि नदिएको महासचिव पाठकले गुनासो गरे। 

कमेन्ट लोड गर्नुस