२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी टीकापुरबाट पक्राउ
धनगढीः कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
सम्मानित कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय पाएका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँका अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।
घर्ती मगर २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले आफ्नै घर ठेगानाबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।