सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सर्पदंशका बिरामीको बिजोग, २० भेन्टिलेटर खरिद गर्ने सरकारको निर्णय अलपत्र

२०७७ असार १४, ०७:४५ कमल सावद

धनगढी : भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका कैलालीको गौरीगंगाका नगरपालिका वडा नम्बर ४ का एक युवकलाई शुक्रबार राती क्वारेन्टिनमै सर्पले टोक्यो। मध्य राती सर्पले टोकेको थाहा नपाएका उनले शनिबार बिहान एक्कासी वान्ता गर्न थालेपछि हातको कुईनामा सर्पले टोकेको पत्ता लाग्यो।

तत्कालै सेती प्रादेशिक ल्याईएका उनलाई अस्पतालले समान्य उपचारपछि भेन्टिलेटर नभएको भन्दै अन्यत्र लैजान सुझाव दियो। शनिबार राती ९ बजेट कोहलपुर उनलाई उपचारका लागि कोहलपुर पुगाईएपनि त्यहाँ समेत भेन्टिलेटर नपाउँदा जरनल वार्डमै राखेर उपचार गरिएको थियो।

आईतबार दिउँसो मात्र भेन्टिलेटर पाएका उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। उनका दाईले भने, ‘राती सर्पले टोकेको रहेछ। जानकारी भएन्। बाहिर जाने वान्ता गर्ने फेरी सुत्ने गर्ने रहेछ। हिड्नै नसक्न भएपछि मात्र मलाई भन्यो। हातको पाखुरामा चोट थियो।

सर्पले टोकेको शंका लागेपछि एम्बुलेन्स बोलायाँै। दुई घण्टा पछि एम्बुलेन्स आयो। सेती अस्पताल लियौ। सेतीले भेन्टिलेटर र आइसियू नभएको भन्दै बाहिर लिन भनेको थियो। नेपालगञ्ज आउँदै थियौ। बडैपुर संर्पदंश उपचार केन्द्रमा पनि गएका थियौ। त्यहाँ पनि सम्भव भएन्।

कोहलपुर मेडिकल कलेजबाट पनि भेरी अस्पताल पठायो। अहिले यहाँ उपचार हुँदैछ।’ सेती प्रादेशिक अस्पतालमा ६ वटा मात्र भेन्टिलेटर छन्। तर शनिबार भेन्टिलेटर खाली नभएको भन्दै ती पुरुषलाई अन्यत्र रेफर गरेको थियो। कोरोना भाइरसको महामारीकाबीच सर्पदंशका विरामी बढ्दै गएपनि अस्पतालहरुमा स्तरीय उपचार सेवा र उपकरण नहुँदा उनीहरुले मृत्युसँग संघर्ष गरिरहेका छन् भने कतिपय उपचार नपाएरै ज्यान गुमाउन बाध्य छन्।

प्रदेशका सीमित अस्पतालमा मात्र सर्पदंशका बिरामीको उपचार सेवा भएका बेला भेन्टिलेटर र आईसियु सेवा नपाएर मृत्युसँग संघर्ष गर्न बाध्य हुनु परेको हो। स्तरीय उपचार सेवाकै अभावमा सुदूरपश्चिममा वर्षेनी सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेका बेला कोरोना महामारीमा उनीहरु झनै प्रभावित भएका छन्।

कोरोना भाइरसका गम्भीर बिरामीका लागि समेत भेन्टिलेटर अनिवार्य भएपनि थप्न आनाकानी गरिएको छ। २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको प्रदेश सरकारले भने ठेक्का सम्झौताको प्रक्रिया समेत पूरा गर्न सकेको छैन्, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले खरिद प्रक्रिया थालिएको बताए।

‘पहिलो प्राथामिकता पीसीआर मेसिन खरिदको थियो। त्यो पुरा भएको छ। भेन्टिलेटरको काम पूर्ण भएको छैन्। आपूर्तिका लागि सात आपूर्तिकर्ताले निवेदन दिएका छन्। दुई बाहिरिएका छन्। पाँच बाँकी छन्। उनीहरुको मुल्याँकन बाँकी छ। अबको दुई दिनमा काम सकिन्छ।’ श्रेष्ठले भने। सुदूरपश्चिममा भेन्टिलेटर ल्याउन अझै दुई महिना लाग्ने देखिएको छ।

आपूर्तिकर्तासंग ६० दिनमा भेन्टिलेटर आपूर्तिका लागि सम्झौताको तयारीमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र रहेको छ। तर प्रदेशमा कोरोना भाइरसको महामारीमै सर्पदंशका विरामी समेत बढ्दै गएका बेला अस्पतालहरुमा पर्याप्त तयारीको समेत अभाव देखिएको छ। सरकारी अस्पतालमा मात्र सर्पदंशका विरामीको उपचारको व्यवस्था भएपनि भेन्टिलेटर र आईसियु सुविधा नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ भने भएका अस्पतालमा बिरामीको चापले समस्या भईरहेको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस