सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगीत, सभामुख भन्छन्–कुरा मिलेको छैन्
धनगढी : आज दिउँसो ३ बजेका लागि बोलाईएको सुदूरपश्चिम प्रदेशसभाको बैठक पनि स्थगीत भएको छ। प्रदेशसभा सचिवालयले सूचना टास गर्दै बैठक स्थगीत भएको जानकारी दिएको छ। प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार मंगलबार दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगीत गरिएको जानकारी दिए।
बैठक स्थगीत गर्नुको कारण बारे सूचनामा उल्लेख गरिएको छैन्। तर सभामुख अर्जुनबहादुर थापाले भने प्रतिपक्षी र सरकारबीच कुरा नमिलेका कारण बैठक स्थगीत गरिएको बताएका छन्। ‘प्रतिपक्षी दलले अस्ती दुई दिन बैठक अवरुद्ध गर्यो,कुरा मिलेको छैन्, खाली मान्छेलाई किन दुःख दिनु भनेर बैठक स्थगीत गरेको हुँ।’ सभामुख थापाले दिनेश खबरलाई भने।
असार १ गते प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि छलफल गर्न १० असारमा बैठक बोलाईएको थियो। तर प्रतिपक्षी दलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गरेपछि सभामुखले बैठक स्थगीत गरेका थिए।
असार १२ गतेका लागि बोलाईएको बैठकमा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध जनाएपछि आजका लागि बैठक बोलाईएको थियो। सरकारले भने प्रतिपक्षीको अवरोधलाई संसदीय अभ्यासका विरुद्ध भएको टिप्पणी गरिरहेको छ। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रतिपक्षी दलले सभामा अहिले गरिरहेको अवरोधलाई गैरसंसदीय अभ्यासको रुपमा टिप्पणी गरेका हुन्।
उनले कार्य व्यवस्था परामर्श समितिको बैठकमा पूर्व जानकारी दिएर संसदमा बोल्ने संसदीय अभ्यास भएपनि सभामुखले नै बैठक नराख्ने गरेको आरोप लगाए।
‘विपक्षी दलले पनि यो कुरामा हाम्रो विरोध, आपत्ती, असहमती छ भनेर कार्य व्यवस्था परामर्श समितिको बैठकमा कुरा दर्ज गरेर बोल्ने चलन छ संसारभर,’ उनले भने, ‘तर सभामुखले न कार्य व्यवस्था परामर्श समितिको बैठक राख्नुहुन्छ। न काँग्रेसले त्यहाँ असहमती दर्ज गरेको छ। न पूर्व सूचना दिएको छ। सभामुख आफैले तपाईहरुको पूर्व सूचना छैन् बस्नुस् भन्नुहुन्छ।’
तर सभामुख अर्जुनबहादुर थापाले भने यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सरकार र प्रतिपक्षी दलसँगको छलफलकै आधारमा बजेटमाथिको छलफलको कार्यसूची तयार गरिएको दावी गरे। ‘सरकारका कानून मन्त्री पनि कार्य व्यवस्था परामर्श समितिमा पदेन सदस्य हुनुहुन्छ।
त्यो दिन भएका निर्णयका बारेमा उहाँलाई पनि सबै कुरा थाहा छ।’ उनले भने, ‘सभा सुरु भएपछि प्रतिपक्षीले विरोध गर्यो। सरकारका काम कारवाहीका विषयमा प्रश्न उठे। फेरी कार्य व्यवस्था परामर्श समितिको बैठक किन आवश्यक पर्यो। सरकार र प्रतिपक्षी मिलेर आएपछि भईहाल्यो नी।’
सभामुख थापाका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामा बजेटमाथि मन्त्रालयगत छलफल गर्ने कार्यसूची तय भएको थियो। सबै मन्त्रालयको बजेटमाथि लगातार दुई दिन सांसदहरुले धारणा राख्ने र तेस्रो दिन सम्बन्धीत मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको उनले बताए।
तर प्रतिपक्षी दलले प्रदेशसभामा गरिरहेको अवरोधमा सरकारकै समर्थन रहेको दावी गरिएको छ। बजेटलाई लिएर नेकपा भित्र उत्पन्न विवादका कारण सरकार अप्ठ्यारोमा पर्ने देखिएपछि प्रतिपक्षीको साहारा लिएर समय लम्ब्याउदै जाने र असार अन्तिममा अधुरो छलफल गरेर पारित गर्ने रणनीति सरकारले अपनाएको आरोप नेकपाका सांसदले लगाएका छन्।
यो पनि पढ्नु्स्।
सुदूरपश्चिममा सत्तापक्षको कलह दबाउन काँग्रेस र राजपा सक्रिय !
सुदूरपश्चिमको बजेटमा प्रतिपक्षी दल काँग्रेस र राजपाको एक तीर,दुई शिकार