डडेल्धुरा अस्पतालमा पिसीआर मेसिन जडान सुरु
डडेल्धुरा: सोमबार ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन डडेल्धुरा अस्पताल पुगाइएपछि जडानको काम सुरु भएको छ। फाउन्डेसन उक्त मेसिन आइतबार अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझालाई हस्तारन्तरण गरेको थियो।
सोमबार बिहानै मेसिन अस्पतालमा पुगेसँगै जडान सुरु भएको हो। अस्पतालको ल्याबनजिकैको कोठा व्यवस्थापन गरेपछि प्राविधिकहरूले मेसिन जडान गरिरहेका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए।
बायोमेडिकल इन्जिनियरले मेसिन जडानको काम गरिरहेको डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले बताए। एक हप्तामै मेसिन जडान सकेर परीक्षण थालिने उनले बताए। ‘मेसिन सेटअपको काम अहिले भइरहेको छ। मेसिन जोड्न कम्तीमा पनि एक हप्ता लाग्छ होला,’ उनले भने, ‘इन्जिनियरले ७–८ दिनमा यो मेसिन जोडिसक्नुहुन्छ। त्यसलगत्तै हामी कोरोना जाँच्न सुरु गछौं।’
उक्त मेसिनमा एक पटकमा ९६ थ्रोट स्वाबको नमुना परीक्षण गर्न सकिने उनले जानकारी दिए। ‘एकचोटिमा ९६ नमुना रन गर्नसक्छौं। त्यसका लागि यसका धेरै विधिहरु हुन्छन्। कम्तीमा ४–५ घण्टा लाग्छ। ९६ नमुना जाँच्न,’ ल्याब इन्चार्ज भुसालले भने, ‘यदि २४ घण्टा नै चलाउने हो भने दुई सयभन्दा बढी नमुनाको परीक्षण गर्न सकिन्छ।’