कैलालीमा संक्रमितको संख्या ३१९ पुग्यो, एकैदिन थपिए ५८ जना
धनगढी : कैलालीमा सोमवार ५८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या तीन सय १९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक महिला र ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। नयाँ थपिएका ५८ जनाको स्थानीय तह भने खुलेको छैन्।
यसअघि पुष्टि भएका दुई सय ६१ जनाको भने स्थानीय तह खुलेको छ। सबैभन्दा बढि जिल्लाको गौरीगंगा नगरपालिकामा ४५ पुरुष र पाँच महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालवहादुर धामीले बताए।
गौरीगंगापछि धनगढीमा ११ महिला र ३४ पुरुष गरी ४५ जना, गोदावरी नगरपालिकामा नौँ महिला र २७ पुरुष गरी ३६ जना, घोडाघोडी नगरपालिकामा तीन महिला र २६ पुरुष गरी २९ जना, टीकापुर नगरपालिकामा एक महिला र २६ पुरुष गरी २७ जना संक्रमित भेटिएको धामीले दिनेश खबरलाई जानकारी दिए।
यस्तै बर्दोगोरिया छ महिला र १९ पुरुष, जानकी गाउँपालिकामा सात महिला र १३ पुरुष, लम्कीचुहा नगरपालिकामा चार महिला र पाँच पुरुष गरी नौँ जना, चुरे गाउँपालिकामा ६ पुरुष, कैलारी गाउँपालिकामा एक महिला र चार पुरुष गरी पाँच जना, भजनी नगरपालिका र मोहन्याल गाउँपालिकामा तीन/तीन जना पुरुषमा संक्रमण देखिएको छ।
संक्रमित मध्ये तीन जनाको मृत्यु भईसकेको छ भने ८ जनालाई दुई पटक रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो। अन्यलाई पनि कोरोना निको नहूँदै डिस्चार्ज गरीएको छ।