राष्ट्रवादको नापो !
-रमण पनेरु
केहिदिन यता नेपालमा देशभक्तिको परिभाषा बदलिएको छ। राष्ट्रवादका चर्का नारा लाउने र सरीता गिरीलाई भौतिक तथा शाब्दिक आक्रमण गर्ने जति देशभक्त हुने र उनको कुनै पनि किसिमले समर्थन गर्ने जति देशद्रोही करार गरिन थालेका छन्। त्यस्तै गिरीको कुनै पनि कुराको समर्थन गर्नु राष्ट्रघात हुन थालेको छ।
उनले सदनबाट बाहिरिएर दिएको अन्तर्वाता थाहाखबरले भिडियो बनाएको थियो। उनी प्रति सहानुभुती राख्नेले त्यो भिडियो मलाई सन्देशमा पठाएका थिए। कारण केहि दिन अघि मैले सरिता गिरीले राखेका प्रश्नहरुको समर्थन गरेर लामै लेख लेखेको थिए। सो भिडियो समयरेखामा बाँड्न खै किन गाह्रो भएछ उनीहरुलाई। त्यसैले मलाई सन्देशमा पठाएका थिए। तर एक जनाले समयरेखामा बाडिन्।
सायद सरकारी विद्यालयमा २० वर्ष ‘सत्यको पक्षधरताको’ पाठ पढाएकी हुनाले उनी त्यसो गर्न अघि सरिन्। उनले महिला भएका कारण गिरीमाथि प्रयोग गरिएका शब्दहरु प्रति आपत्ती जनाइन्। भनिरहनु नपर्ला अहिले सरिता गिरीलाई देश निकाला गर्ने देखि लिएर उनीमाथि बलात्कार र हत्याका धम्कीहरु यत्रतत्र सर्वत्र फैलाइएको छ। हो यीनै धम्कीहरुका कारण गिरीले अन्तर्वार्तामै पनि ‘म आत्महत्याको बाटो रोजौँ या सामना गरौँ भन्ने दुवीधा बाट सामना गर्छु भन्ने शाहस बटुलेर आएँ’ भनेर भनेकी थिइन्।
सायद सदनमा बोल्न दिइएको भए उनले आफ्नो पक्षमा दुई शब्द राख्थिन होला। तर त्यसो गर्दा सरकार राष्ट्रवादी रहिरहन पाउँथेन। सायद त्यसो गर्दा उनीमाथि बलात्कार र हत्याको धम्की दिनेहरुको मनोबल बढ्ने थिएन होला। त्यसैले सभामुखले पनि रुलिङ्ग गरे। उनलाई दुई शब्द बोल्न पनि दिइएन। परिणामस्वरुप उनी बाहिरिएर मिडिया सामु मनको भारी बिसाइन्। हो त्यही कुराले अर्की महिलालाई छोयो। उलने त्यसको विरोध गरिन् । यही उनको अपराध भयो।
एक जना महिलाले ‘महिला भएकाले म महिला प्रति प्रयोग हुने दुच्छर शब्द सहन सक्तिन’ भनेर आफ्नो व्यक्तिगत फेसबुकमा लेखिन्। हो त्यत्ति हो उनको अपराध। अनि उनी बनाईइन देशद्रोही । हामीले खोजेको लोकतन्त्र यही हो ? हामीले चहेको वाक स्वतन्त्रता यही हो। आफ्ना जस्तै धारणा व्यक्त गर्न मात्रै स्वतन्त्रता हुने हो ? त्यो त तानाशाही शासन व्यवस्थामा पनि त हुन्छ। उत्तर कोरियामा नै पनि त्यहाँको शासकको गुण गान गाउन त जत्ति पनि ‘स्वतन्त्रता’ छ। फरक भनेको शासकका भन्दा फरक विचार राख्ने स्वतन्त्रता छ कि छैन भन्ने हो।
विश्वयुद्धको विरोध गर्ने वामपन्थी नेतृ रोजा लक्जम्बर्गको भाषामा भन्दा स्वतन्त्रता भनेकै आफू भन्दा फरक विचार राख्नेको स्वतन्त्रता भनेर बुझ्नु पर्छ। हो त्यहि स्वतन्त्रताका लागि लड्दा लड्दै उनलाई बर्लिनको बुन्डेस्ह्वेर कानालको किनारमा गोली हानेर मारिएको थियो। अनि अहिलेको कम्युनिष्ट सरकारकै पालामा उनीहरुकै अग्रज वाम्पन्थी विचारकहरुको विचारको सम्मान किन भइरहेको छैन। राष्ट्रवादका नाममा एक खाले भाष्यलाई मात्रै सहि र त्यसको दायाँ बायाँ विचार राख्नेमाथि किन प्रहार भइरहेको छ ?
विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकामा उग्रदक्षीणपन्थीहरुले अमेरिका पहिला भन्ने नारा दिइरहेका छन्। संयुक्त राज्य अमेरिकालाई त्यहाँको ९० प्रतिशत आप्रवासी मारेर बसेका गोराहरुले अहिले आप्रवासी मुक्त गोरो देशको नाराहरु लगाइ रहेका छन्।
तिनको नेतृत्व दोश्रो विश्वयुद्ध ताका ६० लाख यहुदीहरलाई यातनागृहमा मार्ने देशबाट बसाइ सराई गरेर गएकाको सन्तानले गरेका छन्। हो डोनाल्ड ट्रम्प आफै पनि आप्रवासीको सन्तान हुन्। उनकी आमा पनि १९३० मा अमेरिका गएर त्यहाँको अंगिकृत नागरिकता प्राप्त गरेकी महिला हुन । ट्रम्पकी पत्नी नै पनि आप्रवासी महिला हुन्। यति हुँदा हुँदै पनि ट्रम्पले घरी मेक्सिको तर्फ पर्खाल लाउने कुरा गर्छन् त घरि मध्यपूर्वका देशहरुबाट आवागमनमा रोक लाउँछन् । नश्लीय शोचमा मान्छेहरुको यही समस्या हुन्छ। उनीहरु आफ्नो विगत र वर्तमान सबै भुलेर नश्लीय सोच मात्रै पस्कन्छन्।
ती लेखकले पनि यस्तै गरेका थिए। आफै अमेरिकामा आप्रवासीका रुपमा रहे पनि राष्ट्रभक्तिको नारा दिन उद्दत देखिन्थ्यो। गिरीलाई मात्र हैन ‘गिरीलाई बलात्कार गर्छु भन्ने कुराको म एक महिला भएका नाताले विरोध गर्छु’ भन्ने महिलालाई पनि देशद्रोही करार गर्न खुब मिहिनेत गरेका देखिन्थे। सायद महाशयलाई थाहा छैन नश्लीय सोच राख्नेलाई अमेरिकामा नै पनि कम्पनीहरुले निकाली रहेका छन्। एटलान्टाका एक प्रहरीमाथि रेशार्ड ब्रुकलाई ज्यान लिने गरि गोली प्रहार गरेको भनेर मुद्दा लागेको थियो।
त्यसैको समर्थनमा उनकी आमाले जर्जीयाकी कांग्रेस उमेद्वार मार्जरी टेलर ग्रीनलाई आफू ती प्रहरीको आमा भएको र आफ्नो छोरासँग भएको व्यवहार ‘अर्थहीन’ भएको भनेर लेखेको सन्देशले नै उनलाई एचआर डिरेक्टरको पदबाट बाहिर निकाल्न प्रयाप्त बन्यो। डेलीमेलले छापेको यो समाचार सायद महाशयले पढेका छैनन्। त्यसैले उनी विरुद्ध यदि उजुरी प¥यो र कारवाहीका लागी नेपाल झिकाइयो भने उनी कुन अप्ठ्यारोमा पर्छन् सायदै उनले कल्पना गरेका होलान्। महिलासँगको दुव्र्यवहारका कारण देश निकाला गरिएको नेपालीको घटना यस अघि पनि भएको थियो । त्यसै त अमेरिकी प्रशासनलाई कुन बहानामा आप्रवासीहरुलाई खेदाँै भएको छ। उनले आफै ‘लौ मलाई खेद’ भन्दै आफ्नो नश्लीय अनुहार उदाङ्गो पारि रहेका छन्।
अमेरिका जहाँ अहिले अश्वेतहरुमाथिको प्रहरी आक्रमणको व्यापक विरोध भइरहेको छ, त्यहाँ बसेको मान्छेको सोच पनि किन यति निकृष्ट हुन्छ? पछिल्लो प्रहरी दमनको घटनाको रुपमा जर्ज फ्ल्वइडलाई ८ मिनेट ४६ सेकेन्ड सम्म घाँटीमा घुँडाले टेकेर मारेको मिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि सोको विरोध विश्वभर नै फैलिएको छ। तर ती जन्मले नेपालीलाई त्यति नजिक रहँदा पनि यो घटनाले विचलिन नबनाएको देखियो। उनी उल्टै उग्रराष्ट्रवादका नाराहरु हाकाहाकी रुपमा लेखि रहे। यस्तो प्रतिगामी शोच राख्न कुन आहारा खानुपर्छ होला ? उदेक लागेर आउँछ !
म आफै आप्रवासी जीवन बाँचेको ८ वर्ष हुन लाग्यो। जर्मनीमा सन् २०१५ को शरणार्थी समस्या पछि विदेशीहरुलाई हेर्ने नजर फेरियो। थोरै खर्चमा महिना काट्नु पर्ने र सोही खर्च जुटाउन पनि रेष्टुरेन्टहरुमा काम गर्नुपर्ने वाध्यताबाट म पनि गुज्रिएको छ। खर्च पनि नहुने र लवाइ खवाइमा पनि उस्तो चाँसो नदिने भएकोले झुत्रे भएर हिँडि रहेको हुन्छु। त्यसै पहिरन र हुलियाका कारण म पनि पटक पटक विभेदको शिकार भएको छु। जस्तो काउणटरमा कार्डले तिर्दा परिचय पत्र माग्न । जब कि म आफै काउण्टरमा लगभग ५ वर्ष जति काम गरेको छु। सिफ्ट म्यानेजर भएर समेत काम गरेको छु। हामीलाई परिचय पत्र रक्सी खरीद गर्नेबेला उमेर पत्ता लगाउनलाई बाहेक अरु बेलामा माग्ने अनुमति हुँदैन। तर मैले बारम्बार सामान्य किनमेलमा समेत परिचयपत्र देखाउनु परेको छ। अनि भिसा थप्ने अफिसको दुव्र्यवहार त्यस्तै।
प्रहरीहरुले विश्वविद्यालयको गेटमा समेत मसँग ‘वम बारुद र लागु औषध छ ?’ भनेर केरकार गरेको अनुभव छ। हवाइ जहाजमा हरियो पासपोर्ट र अश्वेत अनुहार देखेपछिको केरकारका बारेमा त कति भन्नु ? प्राय मलाई इस्लाम धर्मावलम्वी र शरणार्थी सोचेर त्यस्तो व्यवहार गर्थे। उनीहरुले त भन्दैन थिए। तर अरु मुस्लिम साथीहरुले वा अरबी पसलेहरुले सोझै अरबमा सम्बोधन गर्दा पछि सुनाउँथे।
म अरब जस्तै देखिन्छु रे ! यहाँका अपरिचित जर्मनहरुलाई पढाइ सुनाउँदा पत्याउँथेनन्। ‘नियो नाजी भनेर आरोप लगाइने’ यहाँका दलले शरणार्थीले स्वदेशीले तिरेको करको पैसा फोकटम खाएका छन् भन्ने भाष्य व्यापक बनाइएको छ। त्यसैले म र मजस्ता अन्य विदेशीहरु धेरै लामो समयसम्म बसेका पाहुनावाई गरिने व्यवहार भोग्न वाध्य थिए। हुन्छ नि हेर्ने देखि बोल्ने तरिकाहरु !
अलि निकै अघिको कुरा। त्यस्तै किशोरावस्थामा टेकेपछि होला। ठूलो भएको प्रमाण भनेको मम्फली बेच्न आएकालाई लुट्नु हुन्थ्यो। उनीहरुलाई धम्की दिनु र दुःख दिनु बहादुरी हुन्थ्यो। तराईमा बसेकाले गर्मीमा बरफ बेच्न र अन्य बेलामा मम्फली (बदाम) बेच्न घरघरमा ‘भारतीयहरु’ (नागरिकता कहिल्यै सोधिएन तर छालाको रंग र हिन्दी भाषा विदेशी करार गर्न पर्याप्त थियो) चहार्ने गर्थे। हो तिनलाई जे गर्दा पनि हुन्थ्यो। तिनीहरुसँग सभ्य भएर बोल्न पर्थेन। ‘देसी’ र ‘धोती’ भन्न धक मान्नु पर्थेन। आफ्ना पुर्वाग्रहका आधारमा मान्छेका राष्ट्रियता तोकिन्थ्यो। ती विदेशी हुन् भन्ने हुन्थ्यो। अझ भारतीय प्रतिको हाम्रो द्वेष त बेग्लै छ।
सन् २०१५ पछिको यताका मान्छेहरुको आफुप्रतिको व्यवहार सम्झिँदा र आफु स्वदेश बस्दा आफुले गरेका व्यवहार सम्झँदा खासै फरक लाग्दैन। अहिले यहाँका नश्लीय शोच भएकाहरुको खुब विरोध गर्छु। यिनीहरु गलत छन् लाग्छ। सडकमा जर्ज फ्लोएडको समर्थनमा ‘आइ क्यान्ट ब्रिद (म स्वास फेर्न सक्दिन)’ भनेर प्रहरी दमनको विरोध गर्नेहरुसँग बोली मिलाउन मन लाग्छ। तर यो विरोध मेरै विगतको मानसिकताको पनि विरोध हो भन्ने कुराले कता कता मनमा ग्लानी भाव बढाउँछ।
आँखिर ती स्वदेशी भए पनि विदेशी भए पनि गरि खाइ रहेकाहरुमाथिको दुव्र्यवहार कुन तर्कले सहि ठहरिन्छ र ? केहि अघि सम्म म ती भारतीय हुनाले त्यस्तो व्यवहार गरेको हो मधेसीलाई त ‘जनकपुरीया’ (यो सम्मान जनकनै त हैन। डोट्याल वा पहाडे भने जत्तिकै हो) भनेर भन्थ्यौँ। मैथिली र थरहरु छुट्याउने आधार हुन्थे। मिश्रा र झाहरु ‘जनपुरिया’। गुप्ता र खानहरु ‘भारतीय’। चटपट बेच्ने मधेसी अनि कपाल काट्ने र पानीपुरी बेच्ने विदेशी। यस्ता तमाम नश्लीय शोचहरु भारि थिए। अहिले आफै प्रति त्यस्तै नश्लीय आधारमा धारणा बनाएर व्यवहार गर्ने देख्दा रीस उठ्छ। अनि सम्झन मन लाग्छा आफ्ना व्यवहारले पनि कतिलाई पिडित बनाएको थियो होला ?
मौलाउँदो राष्ट्रवादसँगै देशमा अनेक चर्चाहरु चर्किदै गएका छन्। धार्मिक आक्रमण देखि फिजीकरणका कुरा आउँछन्। इशाइकरण (जब कि युरोप आफै नास्तिक हुँदै गइरहेको छ। लगभग ३० प्रतिशत जर्मन नास्तिक छन्) अर्को षडयन्त्रको सिद्धान्तको आधार हो। यता पनि त्यस्तै त छ। बस फरक धर्मको लागि छ। विदेशी आएर जनशांख्यकीय बनोट फेर्छन भन्ने छ। १.६ प्रतिशतको जन्मदरका कारण अबको २५ वर्षमा यहाँका मुल बासी २० लाख कम हुन्छन् भन्ने छ। त्यो जन्मदरमा पनि विदेशी बच्चाहरुको बढि योगदान भएकोले जर्मनी जर्मनी रहँदैन र युरोप युरोप रहँदैन भन्ने छ। युरोपमा इश्लामीकरणको खतरा छ भनेर भनिन्छ । तर म न इस्लाम फैलाउन यता आएको हुकक न मलाई यहाँ फिजीकरण नै गर्नु छ । म त अवसरको खोजीमा आएं। जीवन सजिलो बनाउने संघर्षमा छु। त्यत्ति न हो।
यी सब कुराहरु जान्दै गएपछि अचेल गलत लाग्छन् राष्ट्रवादका नाराहरु। राष्ट्रयता जन्मले आर्जन हुन्छ। त्यसको लागि हामीले कुनै मिहिनेत गर्दैनौँ। फरक राष्ट्रियता पाउन हामीले मिहिनेत गर्नु पर्छ। एउटा मुल्य नचुकाई सजिलै त्यो राष्ट्रियता पाइँदेन। अनि किन मानिसको छनौटलाई र उसको सुखको खोजीलाई गलत ठहर्याइन्छ। छालाको रंग र जात कसरी देशभक्तिको मापक बन्छ ? विदेश बसेका नेपालीले नेपाल प्रति माया देखाउन देशप्रेम अनि नेपालमा बसेकाहरुले आफ्नो मातृभूमि प्रति अलिकति पनि माया देखाउँदा त्यसलाई किन देशद्रोह बनाइन्छ ?
त्यसैले गलत लाग्छन् मलाई विभेदका पाठ पढाउनेहरु। जुनसुकै विभाजनका रेखा केर्नेका विरुद्ध जाइलाग्न मन लाग्छ। त्यो एक किसिमले मैले आफ्नै विगतको सोचमाथि जाई लागेको हो। मलाई थाह छ म गलत थिए। मलाई थाहा छ मैले गलत गरेको थिए। त्यति थाहा पाउन आफै पनि त्यस्तै व्यवहारहरुको शिकार हुनु पर्यो। तर के हामी हाम्रा गल्तीहरुबाट मात्रै सिक्न सक्छौं ? अरुका अनुभवबाट पनि सिके हुन्न र ?
(लेखक जर्मनीस्थित फ्राइबर्ग विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर हुन)