कैलालीमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव भारतीय भूमिमा गाडेको भन्दै विवाद
धनगढी : भारतीय सञ्चार माध्यमहरुले कैलालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव भारतीय भूमिमा गाडेको आरोप लगाएका छन्। असार ३ गते कोरोनाबाट निधन भएका कैलाली गोदावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको शवलाई उत्तर प्रदेशको दुधुवा नेशनल पार्क क्षेत्रमा गाडिएको आरोप लागेको हो।
मृतकको शव व्यवस्थापन नेपाली सेनाले गरेको थियो। दुधुवा नेशनल पार्क क्षेत्रमा शव गाडेको थाहा पाएपछि भारतीय प्रशासनले तत्कालै नेपाली पक्षसँग आपत्ति जनाएको नवभारत टाइम्सले जनाएको छ। समाचारमा शव उत्खनन गरेर अर्को ठाउँमा गाड्न सहमत भएको दावी गरिएको छ।
यता जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने साविकको घाटलाई नै आधार बनाएर शव व्यवस्थापन गरीएको बताए। ‘मोहना नदीको घाटलाई नै आधार बनाएर नेपाली सेनाले शव व्यवस्थापन गरेको हो,’ उनले भने, ‘भारतीय पक्षले आफ्नो भूमीमा गाडेको भन्दै आपत्ति जनाएका छन्। शव उत्खनन गरेर अर्को ठाउँमा गाड्ने कुनै सहमती भएको छैन्।’
भारतीय सञ्चार माध्यमले भने दुई पक्षीय बैठकमा भारतीय अधिकारीले आपत्ति जनाएपछि नेपाली पक्षले गल्ती स्वीकार गरेको समाचारमा उल्लेख गरेका छन्। आइतवारको बैठकमा नेपाली अधिकारीले शव उत्खनन् गरेर नेपाली भूमिमै गाड्ने सहमति भएको पनि समाचारमा दावी गरिएको छ।