कैलालीमा संक्रमितको संख्या २६० पुग्यो, कुन स्थानीय तहका कति ?
धनगढी : कैलालीमा आईतबार ३२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या दुई सय ६० पुगेको छ। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा धनगढीका १८ सहित आज २९ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा थप तीन गरी ३२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
आज धनगढी प्रयोगशालाबाट धनगढीका १८ जना, गोदावरी नगरपालिकाका ८ जना, मोहन्याल गाउँपालिकाका दुई र टीकापुर गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको थियो। कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा ५० जना संक्रमित पुगेका छन्।
गौरीगंगामा ४५ पुरुष र पाँच महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धामीले बताए। गौरीगंगापछि धनगढीमा ११ महिला र ३४ पुरुष गरी ४५ जना, गोदावरी नगरपालिकामा नौँ महिला र २७ पुरुष गरी ३६ जना, घोडाघोडी नगरपालिकामा तीन महिला र २६ पुरुष गरी २९ जना, टीकापुर नगरपालिकामा एक महिला र २६ पुरुष गरी २७ जना संक्रमित भेटिएको धामीले दिनेश खबरलाई जानकारी दिए।
यस्तै बर्दोगोरिया छ महिला र १९ पुरुष, जानकी गाउँपालिकामा सात महिला र १३ पुरुष, लम्कीचुहा नगरपालिकामा चार महिला र पाँच पुरुष गरी नौँ जना, चुरे गाउँपालिकामा ६ पुरुष, कैलारी गाउँपालिकामा एक महिला र चार पुरुष गरी पाँच जना, भजनी नगरपालिका र मोहन्याल गाउँपालिकामा तीन÷तीन जना पुरुषमा संक्रमण देखिएको छ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजेटिभ देखिएका कैलालीकै दुईजनाको ठेगाना खुलेको छैन्। यसअघि कञ्चनपुरका एकजना संक्रमितलाई पनि कैलालीमै देखाउँदा कुल संख्या दुई सय ६१ देखिएपनि १२ वटा पालिकामा दुई सय ६० जना संक्रमित भेटिएको उनले बताए।
जोशीपुर गाउँपालिकामा भने अहिले सम्म संक्रमण देखिएको छैन्। कैलालीमा चैत १४ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।
संक्रमित मध्ये तीन जनाको मृत्यु भईसकेको छ भने चार जनालाई दुई पटक रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।
अहिले सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएकाहरुलाई होम आईसोलेसनमा राख्न थालिएपछि उनीहरुको पुनः पीसीआर परीक्षण हुन सकेको छैन्।