कैलालीको त्रिनगर नाकामा होल्डीङ सेन्टर स्थापना गर्न ८१ लाख बजेट
धनगढी : कैलालीको त्रिनगर नाकामा होल्डीङ सेन्टर स्थापना गर्न संघिय सरकारले ८१ लाख बजेट पठाएको छ। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले त्रिनगर नाकामा होल्डीङ सेन्टर बनाउन संघिय सरकारले ८१ लाख २९ हजार बजेट दिएको जानकारी दिए।
मुडभरीले सरकारले बजेट पठाएको भएपनि खर्च कार्यविधी प्राप्त नभएको बताए। तर धनगढी उपमहानगरपालिकाले यसअघि नै वडा नम्बर २ मा रहेको नवदुर्गा स्कुलमा होल्डीङ सेन्टर स्थापना गरी व्यवस्थापन गर्दै आएको थियो।
प्रवक्ता मुडभरीले भारतबाट आउनेहरुलाई तत्काल सम्बन्धीत स्थानीय तहको जिम्मा लगाउन नसक्ने अवस्थामा सोही स्कुलमा राखिदै आएको बताए।
यस्तै संघिय सरकारले नै आईसोलेसन र क्वारेन्टिन व्यवस्थापनका लागि धनगढीलाई थप १५ लाख ५१ हजार बजेट पठाएको छ।
उप–महानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले केही दिन पहिले मात्र आईसोलेसन र क्वारेन्टिन व्यवस्थापनका लागि उक्त बजेट पठाएको बताए।
उप–महानगरपालिकाले अहिले वडा नम्बर १५ को उर्मामा रहेको जडीबुटी प्रशोधन केन्द्रमा २८ शैयाको आईसोलेसन निर्माण गरिरहेको छ।