डोटीको विपिनगरमा प्रहरी नै काठ तस्करीमा संग्लन (अडियो रिपोर्ट सहित)
५४ क्युफिट सिसमको हरियो काठ स्थानीयले समाते
डोटीको विपिनगरमा शान्ति सुरक्षा कायम गर्नका लागि खटाईएका प्रहरी काठ तस्करीमा व्यस्त हुन थालेपछि स्थानीय वासिन्दाले काठ सहित समातेका छन् । ईलाका प्रहरी कार्यालय विपीनगरका प्रमुख प्रहरी निरीक्षक नृपवहादुर वोहोरालाई स्थानीयले प्रहरी पोशाकमै काठ तस्करी गरिरहेको वेला समातेका हुन् ।
कैलालीको चुरे गाँउपालिका वडा नम्बर २ बाट हरियो सिसमको काठ तस्करी गरेर विपिनगर पु¥याउने अवस्थामा स्थानीयले प्रहरी सक्रिय भएको भेटाएका हुन् । शान्ति सुरक्षा कायम गर्दै गैरकानुनी काम रोक्नुको सट्टा प्रहरीहरु संरक्षण दिदै आफै तस्करीमा सक्रिय भएका हुन् । लामो समयदेखि ईलाका प्रहरी कार्यालयका प्रमुख नृपवहादुर वोहोराले हरिया काठ तस्करी गरिरहेको खवर आएकोमा सोमवार राति स्थानीय वासिन्दाहरुले वन अधिकारी सहितलाई लगेर प्रहरी पोशकमा तस्करी गरिरहेको अवस्थामा समातेका हुन् ।
६ गोलीया काठ तस्करी गरिरहेका प्रहरी निरीक्षक वोहोरालाई ५४ क्युफिट सिसमको काठ र ढुवानी गर्ने ट्याक्टर समातिएको छ । स्थानीयले खवर गरेपछि ईकाल वन कार्यालय लानाकेदारेश्वरको टिम पनि सो स्थानमा पुगेको थियो । कैलालीको चुरे गाँउपालिका वडा नम्बर २ केदार सामुदायिक वनबाट सिसमको काठ प्रहरी निरीक्षक वोहोराकै नेतृत्वमा तस्करी भएको स्थानीयको आरोप छ ।
तर आफुलाई समातेको भन्दै वोहोराले स्थानीय वासिन्दालाई हातापात र दुव्यवहार समेत गरेको डोटीको बड्डी केदार गाँउपालिका वडा नम्वर १ का अध्यक्ष डवल वोहोराले बताए । स्थानीय वासिन्दाले काठ समातेको वनका कर्मचारीहरुले पनि वताएका छन् । प्रहरी निरीक्षक वोहोरा काँचा काठ सहित स्थानीय वासिन्दावाट समातिएपछि उनलाई वनले त्यसका वारेमा स्पष्टीकरण सोधेको छ ।