सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा थप प्रयोगशाला स्थापना गर्न स्वास्थ्य कार्यालय कैलालीले दिएन भवन

२०७७ असार १, ११:०१ कमल सावद

धनगढी : धनगढीमा कोरोना परीक्षणका लागि थप प्रयोगशाला स्थापना गर्न भौतिक संरचना नहुँदा अन्यौलता बढेको छ। स्वास्थ्य निर्देशनायल दीपायलको निर्देशन कार्यान्वयनमा अटेरी भएपछि थप प्रयोगशाला स्थापनामा अन्यौलता बढेको हो।

निर्देशनालयले स्वास्थ्य कार्यालय कैलालीलाई प्रयोगशाला स्थापनाका लागि एउटा भवन सेती प्रादेशिक अस्पताललाई दिन निर्देशन दिएपनि स्वास्थ्य कार्यालयले अटेरी गरेको हो। अहिले सम्म स्वास्थ्य कार्यालयका कर्मचारीले पूर्ण रुपमा भवन खाली गरेका छैनन्। जसका कारण पीसीआर मेसिन खरिद भएपनि कहाँ स्थापना गर्ने विषयमा अन्यौल हुने देखिएको छ। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुस्त भएको भन्दै प्रदेशको स्वास्थ्य निर्देशनायल डोटीले नयाँ प्रयोगशाला स्थापनाका लागि गत चैत १८ गते स्वास्थ्य कार्यालयको भवन दिन निर्देशन दियो।

सेती प्रादेशिक अस्पतालको मातहतमा हुने गरी नयाँ प्रयोगशाला स्थापनाका लागि स्वास्थ्य कार्यालयको भवन उपयुक्त हुने भन्दै स्वास्थ्य कार्यालय र सेती प्रादेशिक अस्पताललाई पत्राचार भएको थियो। स्वास्थ्य कार्यालय कैलालीलाई भवन खाली गर्न गत चैत १८ गते भनिएको छ।

तर अहिले पनि स्वास्थ्य कार्यालय कैलालीका कर्मचारीले भवन पूर्ण खाली गरेका छैनन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले स्वास्थ्य कार्यालयका कर्मचारी भुईतलाबाट काम गर्दै आएका बताए। ‘उहाँहरुले माथिल्लो तला दिनु भएको छ। केही भाग छुट्टयाउने काम भएको छ। अहिले काम रोकिएको छ। उहाँहरु पनि तल्लो तलामा बस्दै आउनु भएको छ। निर्देशनालयले हामीलाई भवन दिन भरेर दिएको पत्र हामीले उतापनि पठाएका थियौ। तर केही दिन रोक्न भन्नु भएको छ।’ सूचना अधिकारी श्रेष्ठले भने।

स्वास्थ्य निर्देशनालय दीपायलबाट स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला सञ्चालनका लागि निर्देशन पाएको सेती प्रादेशिक अस्पतालले आवश्यक तयारी थालेको थियो। स्वास्थ्य कार्यालय कैलालीको सभाहलमा आवश्यक सामाग्री जडानको काम थालिएको थियो। तर स्वास्थ्य कार्यालयका कर्मचारीले पूर्ण रुपमा भवन खाली नगर्दा काम प्रभावित भएको छ। उनीहरुलाई जिल्ला समन्वय समितिको आवास गृहमा सर्न भनिएको छ।

तर स्वास्थ्य कार्यालयका कर्मचारी ठाउँ सानो भएको, आवश्यक भौतिक संरचना, सञ्चार, खानेपानी नभएको भन्दै सर्न मानिरहेका छैनन्। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले नयाँ प्रि–फ्याव भवन निर्माणको तयारीमा रहेको बताए। ‘नयाँ प्रि–फ्याब भवन निर्माण गर्ने भनिएको छ। दुई महिनामा तयार हुन्छ। अहिले हामीले तल्लो तलामा बस्न दिनु भनेको छौ। उहाँहरुले माथिल्लो तलामा काम गर्दै हुनुहुन्छ। समस्या छैन्। जिल्ला समन्वय समितिको आवास गृहमा ठाउँ छैन्।’ धामीले भने।

स्वास्थ्य कार्यालयको भवनमा आवश्यक संरचना तयार गर्दै पुरानो प्रयोगशाला सार्ने र प्रदेश सरकारले खरिद गर्ने नयाँ प्रयोगशालाका सामाग्री पनि स्वास्थ्य कार्यालयको भवनमा जडान गर्ने तयारीमा सेती प्रादेशिक अस्पताल छ। सेतीमा अहिले कोरोना परिक्षण भएको छैन्। ल्याब सञ्चालनमा छैन्। संघिय सरकारले पठाएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट कोरोना परीक्षण हुँदैछ। त्यो प्रयोगशाला यता ल्याउने भनिएको हो। तर फेरी प्रदेश सरकारले नयाँ प्रयोगशाला खरिद गर्ने भनेको छ। त्योसंगै हाम्रो सेतीमा रहेको प्रयोगशाला पनि स्वास्थ्य कार्यालयको भवनमा सार्ने तयारी गरेका छौ।’ सूचना अधिकारी श्रेष्ठले भने।

स्वास्थ्य कार्यालय कैलालीका कर्मचारीले सर्न आनाकानी गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालय नयाँ प्रि–फ्याव भवन निर्माणको तयारीमा छ। तर नयाँ भवनका लागि सूचना भने प्रकाशन गरिएको छैन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस