सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरको कानूनी र सामाजिक क्षेत्रमा एउटा कालखण्डको अन्त्य’

२०७७ जेठ ३१, ०२:१९ जनक विष्ट

धनगढी : थानेश्वर प्रसाद भट्ट, सुदूरपश्चिम मात्र होईन् नेपालमै चिरपरिचित नाम हो। सुदूरपश्चिमलाई नै कर्मथलो बनाएर जीवनको करिब चार दशक बिताएका भट्ट स्पष्टता र सत्यताका पर्यायवाची थिए।

अझ सुदूरको कानूनी र सामाजिक क्षेत्रमा उनले पुगाएको योगदान जति नै प्रशंसा गरेपनि अपूर्ण हुन्छ। २००७ साल पुष २९ गते बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ मा जन्मिएर झण्डै ४० वर्ष वकालतमा बिताएका भट्टको दुःखद अवसानले सुदूरपश्चिमले अपूर्णीय क्षती व्यहोर्नुपरेको छ।

वि.स.२०२९ सालदेखि अनवरत रुपमा कानूनी क्षेत्रमा सक्रिय भट्ट २०४८ सालमा पुनरावेदन अदालत सुर्खेतको न्यायाधीशमा नियुक्त भएका थिए। तर उनले न्यायाधीशका रुपमा रहेर लामो समय काम गर्ने अवसर भने पाएनन्। २०४७ साल अघि नेपालमा जिल्ला अदालत, अञ्चल अदालत, क्षेत्रिय अदालत र सर्वोच्च अदालत गरी चार तहका अदालत थिए।

२०४७ मै जारी नेपाल अधिराज्यको संविधानले जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालत रहने व्यवस्था गर्यो। पुनरावेदन अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस भएका भट्टले अमुख पार्टीको सिफारिसमा पद पाएको भन्ने टिकाटिप्पणी भएपछि नियुक्ती लिएको १५ दिनमै राजिनामा दिए।

भट्टले अमुख पार्टीको सिफारिसमा न्यायाधीशमा नियुक्ती पाएको भन्ने आरोपले न्यायापालिकाको गरिमा र पवित्रतामाथि प्रश्न खडा गरेको भन्दै त्यसलाई जोगाउन राजिनामा गरिदिएका थिए। त्यती बेला उनी भन्थे,‘कसैको दया, माया, कृपा र अनुग्रहले पदमा बसिरहनु उचित नठानेर न्यायलयको गरिमाका लागि राजिनामा गरेको हुँ।’

त्यसै बेलादेखि महेन्द्रनगर फर्किएर सक्रिय रुपमा वकालतमा लागिरहेका भट्ट २०५३ सालमा वरिष्ठ अधिवक्ताको पदवीबाट विभुषित भए। सुदूरपश्चिममा वरिष्ठ अधिवक्ताको पदवी पाउने भट्ट पहिलो व्यक्ति हुन्। तत्कालीन पुनरावेदन बार महेन्द्रनगरको संस्थापक अध्यक्ष भएका भट्टले कानूनी क्षेत्रको विकासमा अगुवाई गर्दै आएका थिए।

नेपाल बार काउन्सीलको पहिलो निर्वाचित परिषद्को सदस्य समेत रहेका भट्टले कानूनी पेशामा आवद्ध व्यक्तिहरुको पेशागत जीवन सुधार गर्नमा समेत महत्वपूर्ण योगदान पुगाएका छन्। कानूनी क्षेत्रबाट उनले निरङकुशता विरुद्धको लडाइमा पुगाएको योगदान अझै प्रशंसनीय छ। २०४६÷०४७ सालको आन्दोलन होस् वा अन्य समयमा राजबन्दीहरुको तर्फबाट वकालत गर्थे भट्ट।

थिचोमिचोमा परेका नागरिकको पक्षबाट वकालत गर्ने क्रममा राज्यले उनलाई अनेक लालछाना समेत लगाउँदै आएको थियो। पीडितको पक्षबाट वकालत गर्ने क्रममा मर्का पर्ने गरी पैँसा कहिल्यै पनि लिएनन् उनले। २०४०÷४२ सालतीर नेपाली काँग्रेसले चलाएको अवज्ञा आन्दोलनका क्रममा भट्टलाई समेत नजरबन्दमा राखिएको थियो।

कञ्चनपुरका तत्कालीन सिडिओले काँग्रेसी भन्दै उनलाई २९ दिन नजरबन्दमा राखेका थिए। उनीसँगै नजरबन्दमा राखिएकाहरु प्रजातन्त्रका सेनानी भएतापनि उनको कुनै मूल्याङ्कन भएन। नेपालमा बहुदलका लागि उल्लेख्य योगदान पुगाएका भट्टको ईमानदारिता र योगदानको भने राज्यले कदर गर्न सकेन।

भट्टले बेला बेला नेपालमा निष्पक्ष न्याय, योग्यता, दक्षता र ईमानदारिताको मूल्य नभएको अनुभुती भएको बताउँदै आएका थिए। तरपनि उनले आफ्नो लगनशिलता, ईमानदारिता, दक्षतालाई कानूनी होस् वा सामाजिक क्षेत्रबाट सुदूरपश्चिमका लागि सधै खर्च गरिरहे। कानून व्यवसायी मात्र नभएर अन्य क्षेत्रका लागि पनि अभिभावक थिए उनी।

समाजमा आईपर्ने कुनैपनि असहज परस्थितीमा भट्टको सल्लाह लिने गरिन्थ्यो। तर राज्यले उनको विवेक, दक्षता र ईमानदारिताको कदर गर्न नसकेको तितो यथार्थ हो। महेन्द्रनगरमा कानुनी पेशामा क्रियाशिल र उर्जावान समय बिताउँदै गर्दा भट्ट सामाजिक हितलाई समेत सर्वोपरी ठानेर निरन्तर लागिरहे।

भट्टले अहिलेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस रहेको तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष भएर समय काम गरेका थिए। उनका पालामा क्याम्पसको संरचनागत देखि प्रशासनिक सुधारका थुप्रै काम भए। उद्योग वाणिज्य संघ कञ्चपुरको संस्थापक समेत थिए भट्ट।

सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनपुरका संस्थापक पनि रहेका भट्टको जेठ २५ गते ह्रदयघातका कारण महेन्द्रनगरमै दुःखद निधन हुन पुग्यो। अरुको अधिनमा बस्न नरुचाउने हक्की स्वभावका भट्टले जीवनभर देश, समाज र आम नागरिकलाई सर्वोपरी ठानेर ईमानदारी पूर्वक काम गरिरहे। उनी कहिल्यै पनि कुनै प्रकारको लोभमा परेनन्।

सुदूरको कानूनी र सामाजिक क्षेत्रमा एउटा कालखण्डको अन्त्य : पत्रकार थापा

पत्रकार चित्राङग थापा वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टको निधनले सुदूरपश्चिमको कानूनी र सामाजिक क्षेत्रमा एउटा कालखण्डको अन्त्य भएको बताउँछन्। भट्ट सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष हुँदाका बखत संस्थापक सचिवका रुपमा उनीसँगै लामो समय काम गरिसकेका थापाले उनको निधनले धेरै ठुलो क्षती पुगेको बताए।

‘जसरी पहाडको उचाई फेदीबाट थाहा हुदैन् त्यसै गरी उहाँ पनि अग्लो पहाडको रुपमा रहनुभएको थियो,’ थापाले भने, ‘सुदूरपश्चिमको कानूनी र सामाजिक क्षेत्रमा एउटा कालखण्डको अन्त्य भएको जस्तो लाग्छ। यसको रिक्तता लामो समय सम्म समाजले महसुस गर्नेछ।’

भट्टको निधनले भएको क्षतीको सुदूरपश्चिमबासीले लामो समयसम्म महसुस गर्ने उनको भनाई छ। भट्ट एउटा वकिल मात्र नभएर असल सामाजिक व्यक्तित्व भएकाले पनि उनको निधनले भएको रिक्तता पूर्ती गर्न समय लाग्ने उनी बताउँछन्।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस