कैलालीको कैलारीमा स्वेच्छिक सहयोग अभियानको थालनी
कैलाली, हसुलिया : कोरोना भाइरस र बन्दाबन्दीका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि कैलारी गाउँपालिकामा स्वेच्छिक सहयोग अभियानको थालनी गरिएको छ।
बन्दाबन्दीका कारण काम गरेर खाने मजदुर वर्ग र क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्वेच्छिक अभियानको थालनी गरिएको हो। गाउँपालिकाकै जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेर अभियानको सुरुवात गरिएको छ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आफ्नोतर्फबाट एक क्विन्टल चामल सहयोग गरेर अभियानको सुरुवात गरे। उनले गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई खाद्यान्न हस्तान्तरण गरे। यसैगरी, सूचना अधिकारी एवम् सामाजिक विकास अधिकृत यगम कलेलले नगद पाँच हजार, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले नगद चार हजार र योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले एक क्वीन्टल चामल सहयोग गरेका छन्।
विभिन्न ठाउँमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई खानाको व्यवस्था गर्न समस्या भइरहेका बेला सहयोग जुटाउने उद्देश्यले गाउँपालिकामा यस्तो अभियान सञ्चालन गरिएको हो। यसैगरी, दैनिक ज्यालादारी गरेर खाने मजदुर वर्ग पनि समस्यामा छन्। अभियानबाट जुटेको राहत सामग्री ज्यालादारीमा काम गर्ने मजदुर वर्गलाई पनि उपलब्ध गराइने जनाइएको छ।
स्वेच्छिक सहयोग अभियानमा गाउँपालिकावासी जो कोहीले पनि सहयोग गर्न सक्ने अध्यक्ष चौधरीले बताए। ‘जनप्रतिनिधि र कर्मचारीलेमात्रै सहयोग गर्नुपर्छ भन्ने होइन’, उनले भने। ‘गाउँपालिकावासी जो कोहीले पनि आफूले सक्ने जति स्वेच्छिक रुपमा सहयोग गर्न सक्छन्।’
सहयोगी हातहरुले ५/१० केजी वा आफूले जति सके त्यति चामल सहयोग गर्न सक्ने अध्यक्ष चौधरीले जनाए। सहयोग गर्नका लागि अपिल पनि गरेको उनले बताए। ‘सुरुवात हामीले गरि दिएका छौं। इच्छुक जो कोहीले सहयोग गर्न सक्नुहुन्छ’, उनले भने।