कैलालीमा कोरोना संक्रमितको सङख्या ५५ पुग्यो
धनगढी : आज कैलालीका सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या ५५ पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्।
कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा ११ जना, जानकी गाउँपालिकामा ९ जना, टीकापुर नगरपालिकामा ८ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक/एक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्। जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।
अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ। यस्तै धनगढीकी ५५ बर्षीय संक्रमितको मृत्यु भइसकेको छ। कैलालीपछि कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।