बाजुराको बुढिगंगा नगरपालिकाद्धारा पीसीआर मेसिन खरीदका लागी ३० लाख बिनियोजन
बाजुराको बुढीगंगा नगरपालिकाले कोरोनाको पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरेको हो।
उक्त मेसीन खरीद गरी जिल्ला अस्पताल बाजुरा सँग समन्वय गरेर अस्पताललाइ सहयोग गर्ने निर्णय गरेको छ। कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी दिईन्।
बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछाम स्थित बयालगडा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताए। यस्तै कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय पनि गरेको छ। नगरपालिका भित्रका क्वारेन्टीनबाट पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्था सहीतको क्वारेन्टीनका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। भने टाँटे स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ।