सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल भारत सीमा सुरक्षा बैठक 

२०७५ असार २८, ०६:४८

नेपाल र भारतका सीमा अधिकारीहरुबीच बिहीबार दार्चुला सदरमुकाम खलंगामा सीमा सुरक्षा समन्वय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा भएको बैठकमा नेपालका दुई वटा जिल्ला दार्चुला र बैतडी, र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सहभागितामा बैठक बसेको हो । बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुवै देशका अधिकारीहरु सहकार्य गरेर  अगाडि बढ्ने समझदारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । सीमा सुरक्षा समन्वय बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्दै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको जानकारी गराए । केहि दिन अघि मात्रै वन्यजन्तु तस्कर समातिएको कारण पनि दुवै देशका अधिकारीबीच सूचना आदान प्रदान गरेर यस्ता गतिविधि निष्कृय पार्ने विषयमा सहकार्य भएको छ । दार्चुलामा हुने अपराधिक क्रियाकलाप दुई देशको मात्रै नभएर त्रिदेशीय सीमासम्म गतिविधि हुने भएकोले दुवै देशका अधिकारीहरुले ध्यान दिएर अघि बढ्ने प्रजि आचार्यले बताए । मानव वेचबिखन, अवैध चोरी शिकारी नियन्त्रण, अवैध सामान वन्यजन्तु जडिबुडी चोरी शिकारीको सम्बन्धमा सीमा क्षेत्रमा सहकार्य गरेरै अघि बढ्ने विषयमा छलफल भएको आचार्यले पत्रकारहरुलाई जानकारी गराए । 


पिथौरागढका जिल्ला अधिकारी सी रविशंकरले सीमा क्षेत्र सम्बदेनशील भएको कारण दुवै क्षेत्रबाट सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताए ।  दुवै देशको सम्बन्धलाई मित्रवत ढंगले अघि बढाउँदै, अवैध चोरी शिकार, सीमा क्षेत्रमा हुने गतिविधि निगरानीमा छलफल भएको बताए । खुला सीमा नाकामा हुने गतिविधिलाई कसरी कम गर्ने, संयुक्त सीमा सुरक्षा लगायतको विषयमा छलफल भएको बताए । खुला सीमाका कारण अवैध वन्यजन्तु जडिबुटी तस्करमा दुवै पक्षले चनाखो हुनुपर्छ, बैठकमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत भूमीराज उपाध्यायले भने । सीमा क्षेत्रमा ०७३ यता मात्रै तीन वटा यार्सागुम्बा ओसार पसार गरेको भन्दै मुद्धा चलेको स्मरण गराए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले अधिकांश तस्कर र ओसार पसार सीमा क्षेत्र नदी किनारबाटै हुने गरेको भन्दै यसको लागि दुवै क्षेत्रमा सूचना आदान प्रदान गर्नुपर्ने बताए ।  विगतदेखि नै प्रहरीले यार्सागुम्बा लगायतका जडिबुटीहरु महाकाली किनार छेउछाउबाट पक्राउ गरिएको भन्दै यसको लागि सहकार्यमा जोड दिए । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले दार्चुला र बैतडीको समस्या समान भएको भन्दै सीमा क्षेत्रको समस्या समाधानको लागि साझा पहल भएको जानकारी दिए । बैठकमा नेपालको तर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा एजेण्डा राखिएको थियो । सबै एजेण्डामाथि व्यक्तिगत तथा सामूहिक रुपमा छलफल भएको हो, दार्चुलाका प्रजिअ आचार्यले भने ।  

नेपालकातर्फबाट अघिल्लो बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, बंगाबगड खोतिला पहिरो, मानव वेचबिखन, अवैध सामान ओसारपासार जोडीबुडी ओसारपसार, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपदमा खोज उद्धार तथा राहत, धौलीगंगा बाध खोल्ने समय, प्रस्तावित झोलुंगे पूलहरुको सहमति बारे, दुईपक्षीय समन्वय, सूचना आदान प्रदान नियमित गर्ने, तथा अन्य विविध विषयमा छलफल गरिएको छ । यस्तै भारतीय पक्षले सीमा सम्बन्धी अपराध, अवैध नसालु पदार्थ ओसार पसार, मानव वेचबिखन,  अवैध सिकार, पारस्परिक सुरक्षा, नक्कली नोट, सीमा क्षेत्रमा हुने आइएसका गतिविधि, सीमा क्षेत्रका प्रहरीहरु बीचको समन्वय, दुवै क्षेत्रमा गस्ती, बंगाबडको पहिरो नियन्त्रण, प्रस्तावित पूलहरु सूचना आदान प्रदान लगायतका एजेण्डा प्रस्तुत गरिएको थियो ।
कमेन्ट लोड गर्नुस