सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नक्कली प्रमाणपत्र पेश गर्ने विद्यालय निरिक्षकलाई भ्रष्टाचार मुद्दा

२०७७ जेठ ९, ०२:२८ खबर संवाददाता

धनगढी : कैलालीमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने विद्यालय निरिक्षकलाई भ्रष्टाचार मुद्दा लागेको छ। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाने तत्कालीन जिल्ला शिक्षा कार्यालय, कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवर विरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

अछामको साँफेबगर नगरपालिका वडा नं. २ का कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विगत लामो समयसम्म नोकरी खाईरहेको भन्ने उजुरीका आधारमा छानविन गर्दै जादा पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, इलाहावाद, भारतबाट प्रविणता प्रमाणपत्र तह (इन्टरमिडियट एजुकेशन) उत्तीर्ण गरेको झुठ्ठा प्रमाण पत्रको आधारमा सेवा बहाल तथा बढुवा भएको पुष्टि भएको भन्दै उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन माग दाबी गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस