धनगढीका चार क्षेत्रमा नयाँ खानेपानी पाइपलाइनमा धारा नसारे पानी सेवा बन्द हुने
धनगढी: धनगढी उपमहानगरपालिकाले नयाँ खानेपानी पाइपलाइन विस्तार सम्पन्न भएका चार क्षेत्रमा पुरानो पाइपलाइनमा जडान भएका सबै धाराहरू अनिवार्य रूपमा नयाँ पाइपलाइनमा स्थानान्तरण गर्न उपभोक्तालाई निर्देशन दिएको छ।
उपमहानगरपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार सम्बन्धित उपभोक्ताले साउन ३० गतेभित्र नेपाल खानेपानी संस्थानमा सम्पर्क गरी नयाँ पाइपलाइनमा धारा जडान गर्नुपर्नेछ। तोकिएको समयभित्र जडान स्थानान्तरण नगरे पुरानो पाइपलाइनमार्फत हुने खानेपानी वितरण पूर्ण रूपमा बन्द गरिने चेतावनी दिइएको छ।
उपमहानगरका अनुसार नयाँ खानेपानी पाइपलाइन सञ्चालनमा आइसकेका क्षेत्रहरूमा मनोहरा–कैलाली पुलदेखि ट्राफिक चोक–चौराहा, ट्राफिक चोकदेखि विशालनगर हुँदै सोह्राइ होटल पश्चिम गेटसम्म, उत्तर बेहेडी आरसीसी पुलदेखि राष्ट्रिय वाणिज्य बैंक चोक, निसर्ग अस्पताल हुँदै सामुदायिक प्रहरी बिटसम्म तथा राष्ट्रिय वाणिज्य बैंक चोकदेखि मालपोत कार्यालय जाने सडक हुँदै अञ्चल अस्पताल दक्षिण गेट–मनोहरा सडक क्षेत्र समावेश छन्।
उपमहानगरपालिकाले सबै प्रभावित उपभोक्तालाई समयमै नयाँ पाइपलाइनमा धारा जडान गरी खानेपानी सेवा नियमित बनाउन आग्रह गरेको छ।