कैलालीको टीकापुमा रहेको सीमास्तम्भ कटानले नदीमा
कैलाली : कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ। नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन्।
यो वर्षको नदी कटानले ७०१÷१ नंको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ। नदीले दुई साताअघिदेखि कटान शुरु गरेको हो। नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए। “नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “साता नबिल्दै स्तम्भ नदीमा मिसियो।”
प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताए। “नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ”, रावल भन्छन् “अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो।” यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो। विसं २०४० मा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीयवासी बताउँछन्। विसं २०४० मा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो। तिनै गाउँ अहिले बगर बनेका स्थानीयवासी झपट बुढाले बताए।
अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ। तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताए। उनले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिए।
नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् । त्यस्तै सहायक सीमास्तम्भ ७०२/२ देखि ७०२/७ सम्म, ७०४/३, ७०४/४, ७०४/६ र ७०५/३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ। तीमध्ये धेरैजसो सीमास्तम्भ पुनःनिर्माणको समस्या भइरहेको छ। “सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ”, सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भने, “कुन ठाउँमा पुनःनिर्माण गर्ने भन्ने नै अन्योल छ।”
कैलालीमा जम्मा २८२ सीमास्तम्भ रहेका छन्। तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिनुभएको छ। “हामी मर्मतको काम गरिरहेका छौँ”, धामीले भने, “दुई देश नेपाल र भारत मिलेर मर्मतको काम भइरहेको छ। कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन्। बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?”