सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राहतको चामल कुहिएको भेटिएपछि आपूर्तीकर्तालाई कारवाहीका लागि सिफारिस

२०७७ वैशाख ३०, १०:२९ खबर संवाददाता

धनगढी : धनगढीमा राहतको चामल कुहिएको भेटिएपछि आपूर्तीकर्तालाई कारवाहीका लागि सिफारिस गरिएको छ। धनगढी उप–महानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरुमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तीकर्ता ठाकुर ट्रेड लिंकलाई कारवाही गर्न सिफारिस गरिएको हो।

स्थानीयले कुहिएको चामल दिईएको भन्दै फिर्ता गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरीस्थित गोदाममा समेत अनुगमन गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, पत्रकार, जनप्रतिनिधि र स्थानीयको उपस्थितीमा भएको अनुगमनमा गोदाममा समेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारवाही गर्न सिफारिस गरिएको वडा नम्वर ४ का अध्यक्ष दीपक कुमार थापाले बताए। 

‘गोदाममा रहेको ७, ८ वटा बोरा खोल्दा, ३, ४ वटा बोरामा खराब चामल भेटिएको छ। हामीले तत्कालका लागि राहत वितरण बन्द गर्दै आपूर्तिकर्तालाई कारवाही गर्न माग गरेका छौ।’ वडा अध्यक्ष थापाले दिनेश खवरलाई भने।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले पनि राहतका लागि वितरण गरिएको र गोदाममा मौज्दात राखिएको चामल कुहिएको भेटिएको बताए।

उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, ८ सय क्वीन्टल दाल लगायतका खाद्य सामाग्री खरिदका लागि ठाकुर ट्रेडसंग ठेक्का सम्झौता गरेको थियो।

सोही ठेक्का अनुसार ठाकुर ट्रेडले वडाहरुमा चामल आपूर्ति गरेकोमा उप–महानगरपालिकाले एक पटक परीक्षण समेत नगरी वितरण सुरु गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस