धनगढीमा कोरोना परीक्षण गरिएका ३० जनाको रिर्पोट नेगेटिभ
धनगढी : किट सकिएपछि सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण शनिबारदेखि पुनः सुचारु भएको छ। संघिय सरकारले किट पठाएपछि प्रदेशको अस्थायी मुकाम धनगढी स्थित पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिनमा शनिबारदेखि कोरोना परीक्षण सुरु भएको हो। शनिबार राती ३० जनाको नमूना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका इन्चार्ज रमेश शाहीले परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए। शाहीका अनुसार परीक्षण गरिएका ती नमूना कैलालीको लम्कीचुहा र प्रतापपुर क्षेत्रबाट सम्भावित विरामीका हुन्।
यसअघि धनगढी प्रयोगशालामा आरएनए एक्पेक्सन किट सकिएपछि दुई दिन परीक्षण रोकिएको थियो। संघीय सरकारले शुक्रबार तीन सय ८४ किट पठाएपछि पुनः परीक्षण थालिएको हो।