सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना त्रासपछि गाउँ फर्किएका युवालाई स्वरोजगार बनाउने सुदूरपश्चिम सरकारको दावी

२०७७ वैशाख २६, १२:५४ कमल सावद

धनगढी : कोरोना भाइरसको संक्रमणले बेरोजगार भएर लाखौँ युवाहरु स्वदेश फर्किएपछि  सुदूरपश्चिमका गाउँ भरिभराउ भएका छन्। सुदूरपश्चिम सरकारले पनि कोरोनाको महामारीलाई अवसरको रुपमा प्रयोग गर्ने जनाएको छ। सुदूरपश्चिमको खेती योग्य जमिनको धेरै भाग बाँझो रहेकाले युवा लक्षित कृषि कार्यक्रम ल्याउने प्रदेश सरकारको दावी छ।   सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले कोरोना बिषेश कृषि कार्यक्रमको तयारीमा रहेको बताईन्।

‘भारतबाट फर्किएकाहरुका लागि मात्र हैन कि, हाम्रो योजना भनेको कृषिमा आत्मनिर्भर, खाद्य संकट आउन नदिन सबै ठाउँबाट आएका युवाहरुलाई कृषिमा लगाउने। बाँझो जमिनलाई सदुपयोग गर्न कोरोना लक्षित प्याकेज कृषिका कार्यक्रम ल्याउँदैछाँै। कृषिमा कसरी युवालाई आर्कषण गर्न सकिन्छ। योजना निर्माण गर्दैछौ। बाहिरबाट आएका युवालाई उत्पादनको आधारमा अनुदान, सहुलियत ऋण लगाएका थुप्रै कार्यक्रम ल्याउदैछौ।’ मन्त्री चौधरीले भनिन्।  

बाझो जमिन खाली नहुने गरी कृषि कार्यक्रम ल्याउने उनले बताईन्। ‘स्थानीय तहलाई भारत तथा तेस्रो मुलुकबाट आएका युवाहरुको तथ्यांक संकलन गर्न भनिएको छ। मन्त्रालय मातहतका कार्यालयहरु पनि बाँझो जमिनको बारेमा अध्ययन गर्दैछन्।’ मन्त्री बोहराले भनिन्। ‘कुन स्थानीय तहमा कती–कती युवा बाहिरबाट आउदैछन्? अर्काे चाँहि कुन स्थानीय तहमा कति जमिन बाँझो छ ?  

भूमी बैँक स्थापना गर्ने र कृषी गर्ने युवालाई जमिन उपलब्ध गराउँने छौ। नौ वटै जिल्लामा आत्मनिर्भर कृषि पेशालाई जोड दिएका छौ।’ कोरोना त्रासपछि गाउँ फर्किएका लाखौँ युवालाई स्वरोजगार बनाउने सुदूरपश्चिम प्रदेश सरकारले  दावी गरेको हो। विदेशबाट रोजगारी गुमाएर गाउँ फर्किएका झण्डै दुई लाख र फर्किने तयारीमा रहेका थप लाखौँ युवाहरुलाई स्वरोजगार बनाउने दावी प्रदेश सरकारले गरेको हो।

स्वदेशमा रोजगारीको सम्भावना नदेखेर विदेशिएका युवाहरु एकै पटक ठूलो संख्यामा फर्किएपछि व्यवस्थापनमा समस्या हुने आकलन गरिएका बेला प्रदेश सरकारले भने सबैलाई रोजगारीको व्यवस्था मिलाउने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए।

‘कोभिड–१९ ले गर्दा विश्वको अर्थतन्त्रमा क्षती भएको छ। नेपालको अर्थतन्त्रमा पनि ठुलो क्षती भएको छ।’ अर्थमन्त्री बोहराले भने, ‘बैदेशिक रोजगारीमा गएका युवाहरु बेरोजगार भएका छन्। तीन तहकै सरकारले युवाहरुका लागि कार्यक्रम ल्याउन आवश्यक छ। बेरोजगारीलाई रोजगार दिने योजनाहरु प्रदेश सरकारले पनि ल्याउँछ। कृषिका कार्यक्रम ल्याउँछौ।’ युवाहरु विदेश पलायन भएपछि बाँझो बनेको खेतीयोग्य जग्गाको सदुपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउने योजना प्रदेश सरकारको छ।

त्यसका लागि कृषिमा अनुदान बढाउने तयारी समेत गरिएको छ।  आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने तयारीमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय छ। अन्य मन्त्रालय तथा प्रदेश सरकारका विभिन्न कार्यालयहरुलाई योजना माग गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए।

प्रदेशमा भारत तथा तेस्रो मुलुकबाट फर्किने युवाको तथ्यांक संकलनका लागि स्थानीय तहलाई आग्रह गरिएको छ। प्रदेशको कृषि मन्त्रालयले बाझो रहेको जमिनको तथ्यांक संकलन गर्दैछ। प्रदेशका ९ जिल्लामा कुन क्षेत्रमा कस्तो कृषी उपजको सम्भावना छ? भन्ने विषयमा पनि अध्ययन भईरहेको छ।

विदेशबाट फर्किएका युवाहरुको सिपको आधारमा उनीको सिपको सदुपयोज गर्ने योजना सुदूरपश्चिम सरकारले बनाएको जनाएको छ। सुदूरपश्चिम  सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस