सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तरेर भित्रिए छ नेपाली

फाइल फोटो
फाइल फोटो
२०७७ वैशाख २५, ०९:२६ नरेन्द्र कार्की

दार्चुला : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन्। चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन्।

डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन्।

नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए। उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन्। यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन्।

लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताए। “एक महिनादेखि काम बन्द भयो”, उनले भने, “नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।” तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए।

नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन्।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस