सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा धान खेती गर्न प्रोत्साहन गरिँदै

फाइल फोटो
फाइल फोटो
२०७७ वैशाख २१, ०४:४७ खबर संवाददाता

दुर्गा देवकोटा, टीकापुर–रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टीकापुरले यस वर्ष तीनसय २० हेक्टरमा धान खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने भएको छ। तीन सय २० हेक्टरमध्ये दुईसय ४० हेक्टरमा बीउ उत्पादन र ८० हेक्टरमा धान उत्पादन गरिने भएको छ।

आयोजनाले कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा खेती गर्ने भएको छ। बीउ उत्पादनका लागि बीउ उत्पादक सहकारी संस्था र कम्पनीमार्फत कृषकलाई सहयोग गरिनेछ भने खाद्यान्नतर्फ व्यक्तिगत रुपमा सहयोग गर्ने नीति आयोजनाले लिएको जनाइएको छ।

आयोजनाले गत वर्ष १५० हेक्टरमा बीउ उत्पादनका लागि सहयोग गरेको थियो। सिँचाइ आयोजना कृषि इकाइका बाली विकास अधिकृत जय महतराले यस क्षेत्रलाई बीउ उत्पादन क्षेत्रका रुपमा विकास गर्न तथा कृषि उत्पादकत्व बढाइ आर्थिक समृद्धिमा सहयोग पु¥याउनका लागि धान खेती विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए।  आयोजनाले मूल बीउ, प्रजनन बीउ र उन्नत जातको बीउ उत्पादनका लागि सहकारी र कम्पनीलाई परामर्श दिएको उनले बताए। 

‘‘आयोजनाले उत्पादक सहकारी र कम्पनीलाई बीउमा ५० प्रतिशत, सूक्ष्म पोषण तत्व र कृषि सामग्रीमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेकोे छ।’’ बाली विकास अधिकृत महतराले भन्नुभयो, ‘‘प्राविधिक सहयोग, तालिमसमेत दिनेछौँ।’’ 

आयोजनाले वर्षेनी कृषि उत्पादन, कृषकको व्यावसायिक विकास, कृषि यान्त्रिकीकरणका क्षेत्रमा सहयोग गर्दै आएको छ। ‘‘आयोजनाले धान खेतीतर्फ खाद्य बालीका रुपमा मात्र नभई धानको बीउ उत्पादनका लागि पनि सहयोग गर्न थालेको हो।” उनले भने, ‘‘हामीले धान खेतीका लागि व्यक्ति र धानको बीउका लागि बीउ उत्पादन गरिरहेको सहकारी र कम्पनीलाई सहयोग गर्नेछौँ।’’

बीजवृद्धि कृषि सहकारी मुनुवाका कमल कठरियाले आयोजनाले सघाएपछि सहकारीलाई बीजवृद्धिका क्षेत्रमा काम गर्न सजिलो भएको बताए। ‘‘हामीले बीजवृद्धिकै काम गरिरहेका छौँ, सिँचाइ आयोजनाले बीउ उत्पादनका लागि गरिएको खेती विस्तारमा हामी पनि छनोट हुने गरेका छौँ’’, उनले भने, ‘‘किसानले आफ्नो जग्गामा खेती गर्छन, उनीहरुले उत्पादन गरेको बीउ हाम्रो सहकारीले किन्छ, किसानलाई बीउ बिक्रीको तनाव पनि हुँदैन।’’
खेती गर्ने समयमा हुने बीउ अभाव अन्त्य गर्न आयोजनाले बीजवृद्धिमा सघाउन थालेको किसानको भनाइ छ। ‘‘यो क्षेत्रमा खेती गर्ने समयमा बीउ अभाव हुन्छ’’, जानकी–३ का किसान भूपेन्द्र कुँवरले भने, ‘‘आयोजनाले बीउ उत्पादनमा सघाएमा किसानलाई सहजै बीउ पाउने वातावरण बन्ला।’’

आयोजनाको सहयोगमा कृषि सहकारी तथा कम्पनीले राधा ४, सावा मन्सुली, बान्ह गङ्गा, हर्दिनाथ, राम धान, सावित्रीलगायत धान लगाउनेछन्। खेती विस्तार गर्नुअघि कृषि सहकारी तथा कम्पनी सञ्चालकलाई तालिमसमेत दिइनेछ। धनसिंहपुर कृषि सहकारी संस्थाका धनसिंह साउँदले पछिल्लो समय यस क्षेत्रका कृषि सहकारीले बीजवृद्धिलाई महत्व दिन थालेको बताउनुभयो । ‘‘बीजवृद्धिमा आयोजनाले सघाउन थालेको छ’’, उनले भने, ‘‘बीउ गुणस्तरीय नभए किसान घाटामा जाने भएकाले हामीले बीउ उत्पादनमा जोड दिन थालेका छौँ।’’ 

आयोजनामार्फत बीजवृद्धि कृषि सहकारी संस्था मुनुवा, उज्यालो बहुउद्देश्यीय सहकारी सत्ती, धनसिंहपुर कृषि सहकारी संस्था, नमूना बहुउद्देश्यीय सहकारी र किसान बीजवृद्धि सहकारीलगायतका ११ बीउ उत्पादक सहकारी र कम्पनीसँग छलफल गरेको छ। 

कृषि इकाइले यसबाहेक किसानलाई मागका आधारमा मौसमी तथा बेमौसमी तरकारी खेती, केरा खेती, च्याउ खेती, गाजर खेती, घाँस खेतीजस्ता कार्यमा समेत अनुदान र सहयोग दिने गरेको छ। आयोजना सञ्चालनपछि यस क्षेत्रका किसान व्यावसायिकसमेत बन्न थालेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस