कैलालीमा उत्पादनको एक प्रतिशत मात्रै गहुँ सरकारले खरिद गर्ने
धनगढी : कैलालीमा यस वर्षपनि कुल उत्पादनको एक प्रतिशत मात्रै गहुँ खरिद गर्ने सरकारले तयारी गरेको छ। कैलालीमा कुल ३४ हजार पाँच सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुदै आएकोमा एक लाख सात हजार मेट्रिकटन अर्थात १० लाख ७० हजार क्वीन्टलको हाराहारीमा प्रतिवर्ष गहुँ उत्पादन हुने गरेको छ।
तर सरकारले यस वर्ष भने गहुँको समर्थन मूल्य निर्धारण गरेपनि कैलालीबाट १० हजार क्वीन्टल अर्थात उत्पादनको एक प्रतिशत भन्दा थोरै कम मात्र गहुँ खरिद गर्ने लक्ष्य राखेको हो। १० लाख ६० हजार क्वीन्टल भन्दा बढी गहुँ किसानले सस्तो मूल्यमा व्यापारीलाई बिक्री गर्नुपर्ने छ।
गौरीगंगा नगरपालिकाका किसान मिना देवी कठरियाले भनिन, ‘विउ र मल चर्को मुल्यमा खरिद गरेका थियौँ। सरकारले तोकेकै गहुँको मुल्य नपाउँदा समस्यामा छौं। सरकारले समर्थन मुल्य तोकेर मात्रै भएन खरिद गर्ने जिम्मा पनि लिनुपर्छ।’ सरकारले वेवास्ता गरेको वेला लकडाउनकै अवधीमा अन्य व्यपारीहरु गाउँमै पुगेर गहुँ खरिद गरिरहेको उनले बताईन्। ‘किसान पनि अहिले समस्यामा छन्, त्यसकारण पनि सस्तोमा विक्रि गर्न बाध्य छौ,’ उनले भनिन्।
सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैँया तोकेको छ। उत्पादन लागत दुई हजार तीन सय १९ रुपैयाँ ४९ पैसा, ढुवानी खर्च दुई सय ३१ रुपैँया ९५ पैसा र किसानलाई नाफा चार सय ६३ रुपैयाँ ९० पैसासहित तीन हजार १५ रुपैयाँ ३४ पैसा समर्थन मूल्य तोकिएको हो। यता कैलालीको हकमा सरकारले १० हजार क्वीन्टल मात्र गहुँ खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय धनगढीका प्रमुख अनिल कुमार श्रेष्ठले बताए।
यो कुल उत्पादनको एक प्रतिशत मात्रै हुन आउछ। जसकारण यस वर्ष पनि कैलालीका किसानहरु समस्यामा पर्ने निश्चित छ। स्थानीय र प्रदेश सरकारले समेत गहुँ खरिद गर्न सुरु गरे किसानहरुलाई सहज हुने विश्वास लिईएको छ।
तर यी दुई सरकारसंग भने हाललाई किसानहरुबाट गहुँ खरिद गर्ने कुनै योजना नभएको सुदूरपश्चिम प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले बताए। ‘गहुँको मूल्य तोकेर सम्पुर्ण उत्पादन नै सरकारले खरिद गर्नु पर्छ भन्ने भनाई हाम्रो पनि हो,’ उनले भने, ‘तर अहिले प्रदेश र स्थानीय सरकारले त्यो काम गर्न सक्दैन होला। किनकी हाल सम्म संघीय सरकारकै मातहत रहेको खाद्य संस्थानले नै गहुँ खरिद गर्दै आएको छ यो वर्ष पनि उसैले खरिद गर्छ।’
संघीय सरकारले मात्र न्युन मात्रामा गहुँ खरिद गर्ने हुदाँ किसानहरु वर्षेनी घाटामा विक्रि गर्न बाध्य छन्। लकडाउनकै बिचमा पनि केही व्यपारीहरुले गहुँ खरिद गर्न सुरु गरिसकेका छन्। उनीहरुले लकडाउन कारण आफ्नो बढी खर्च हुने भन्दै सस्तोमा गहुँ उठाईरहेका छन्। यता खाद्य संस्थानले भने आईतबार देखि मात्रै गहुँ खरिदका लागि तयारी अगाडी बढाउने जनाएको छ।