कोरोना कालमा मजदुरको मजबुरी - झन् बढ्यो सरकार र जनताको दुरी
विष्णु प्रसाद जोशी
अहिले कोरोनाको चपेटा विश्व बजार आर्थिक मन्दी तर्फ उन्मुख हुँदै छ। कयौँ बहुराष्ट्रिय कम्पनी र रोजगारदाता हरू ठप्प जस्तै भएका छन्। कम्पनीको अस्तित्व बचाउन मजदुर र कामदारको सङ्ख्या घटाउँदै छन्। त्यसमाथि पनि विश्व राजनीतिमा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरू सत्तासीन रहेको अवस्थामा विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ।
संयुक्त राष्ट्र सङ्घ जस्ता वैस्विक र सार्क र विमस्टेक क्षत्रिय सहकार्य गर्ने सङ्गठनहरू निष्क्रिय प्राय भएका छन्। यो महा-व्याधिको प्रकोपबाट आफ्ना जनतालाई बचाउनु सबै राष्ट्रको प्रथम कर्तव्य हो पनि। तर हामी जस्तो पराश्रित अर्थतन्त्र र युवाको श्रम बेची चलेको देशका लागी यो खतराको घण्टी हो।
अल्पकालीन रूपमा हामीलाई चाहिने आपत्कालीन स्वास्थ्योपचार उपकरण , औषधि, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको कमी पर्न सक्छ र मध्य र दीर्घकालीन रूपमा हाम्रा युवा जनशक्ति स्वदेश फर्किए पछि उनीहरूलाई रोजगारी सिर्जना गर्ने चुनौती आउन सक्छ जसको व्यवस्थापन गर्न हामीसँग न कुनै तयारी छ, न योजना नै।
त्यसैगरी आज सहरका दैनिक मजदुरलाई यो विपद् जो होचो उसकै मुखमा घोचो भएको छ। व्यापार, व्यवसाय ठप्प हुँदा गुणस्तरीय जीवन त के हात मुख जोड्न पनि गाह्रो छ। ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ भनेझैँ रोजगारदाताले पनि कामदारलाई घर पठाउँदै छन्। आफन्तहरूले सहरमा छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडीको अनुभूति गराउँदै गर्दा १,२ हप्ता पैदल हिँडेर आफ्नो गाउँ-घर जाँदै गरेका जनता आफूलाई धोबीको कुकुर घरको न घाटको महसुस गर्दै छन्।
भात छैन पेट भर्न मजदुरको थालमा
मरिन्छ कि क्या हो अब अनिकालमा
अर्थतन्त्र घिस्रिदै छ कछुवाको चालमा
बिरामीलाई ठाउँ छैन निजी अस्पतालमा
छुट्ट्याउनै गाह्रो व्यापारी र दलालमा
जन-प्रतिनिधि हिंडछन् आ-आफ्नै तालमा
खै कहाँ हरायो सरकार? यही सवालमा
नेपाल प्रवेश गर्यो अर्को नयाँ सालमा!
काम कुरो एकातिर छोडी कुम्लो बोकी ठिमी तिर
हाम्रै छिमेकका प्रधानमन्त्रीले आज कोरोनाको महा-व्याधिको प्रकोप न्यूनीकरण गर्न गरिब र मजदुरलाई राहत प्याकेज घोषणा र परीक्षण र नियन्त्रण गमा लागेका स्वास्थ्य कर्मीको सुरक्षा प्रत्याभूत गर्न अध्यादेश जारी गरे। हाम्रा नेताहरू भने यो विपद्मा पनि आफ्नै कुर्सी बचाउन र आफ्नै आसे-पाशे पोस्न कहिले रातारात अध्यादेश ल्याउँछन् त कहिले अपहरण गर्न व्यवस्थापिका र पूर्व सुरक्षा कर्मी खटाउँछन्। आज नेपालमा यो विषम परिस्थिति किन आयो त ? किनकि हामीले प्रश्न गरेनौ, योजना बनाएनौँ।
देशमा उद्यमशीलता प्रवर्धन, रोजगारी सृजना गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ। लोकतन्त्रको विशेषता भनेकै जनमतको कदर हो- जनताले नेता छान्ने, नेताले जनहितमा काम गर्ने। अपेक्षित काम नगरे वा सुशासन, संवृद्धि तर्फ देशलाई लान नसके वा भ्रष्टाचार र नातावाद, कृपावाद र दलाल पुँजीवादीलाई आश्रय दिई रहे अर्को आवधिक निर्वाचनमा जनताले सक्षम वैकल्पिक नेता चुन्ने।
तर नेपालमा न सुशासन, संवृद्धि तर्फ देश बढ्यो न जनहितमा काम तर पनि विगत ३० वर्षमा विभिन्न वाद, पार्टी र नारा लिएर विभिन्न विभिन्न र मुकुन्डो लगाई उनै अनुहार राजनीति र देश दोहनमा सक्रिय छन्। एक चोटि सत्तामा पुगेका परिवारका सदस्यहरू प्राय सबै अरबपति छन् आज! जहानियाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिहरूको सेना, प्रहरी, व्यापार देखि दलाली सम्म हाली हालीमुहाली छ! हिजो प्रजातान्त्रिक पद्धतिबाट संवृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन्! वादका भर्याङ चढेर सत्तासीन भएका आफैलाई समाजवाद उन्मुख कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल, बिचौलिया र गुन्डाहरूको संरक्षक किन बनेको छ?
के छ नेता ज्यु आजकल तिम्रो हाल-खबर?
भोट दिने त गाउँमै छुटे, तिमी पस्यौ सहर!
जनताबाट सिंहदरबार भयो टाढा टाढा,
कैले आउँछ तिमीलाई, रुकुम-रोल्पा नजर?
नेतालाई मात्रै दोष दिएर समाधान हुन्न। हामी आफैँ पनि केही हद सम्म यसको लागी जिम्मेवार छौँ। हिजो हामीले छोरा-छोरी र आफन्तले सहर पस्नु या विदेश जानु लाई "मुक्ति" जस्तो मानेर माला , खादा लगाई, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्स्टाटस रङ्ग्यायौं । सहर पस्नु र विदेश जानु फेशन भयो। पहाडका मान्छे तराई झरे, तराईका काठमाडौँ चढे अनि काठमाडौँका विदेश उडे।
त्यसैले, आज नेपालको लाखौँको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ र एक तिहाइ अर्थतन्त्र विदेशबाट विप्रेषित पुँजीबाट चल्छ। हामी मध्य धेरैले विदेशबाट विप्रेषित पुँजी देखावटी कुरामा बढी खर्चियौँ। त्यो पुँजी उत्पादक र नवीकरणीय उद्यममा लगाउन सकेको भए सायद आज स्वदेश फर्किन सहज हुने थियो। अब धेरै युवा विदेशबाट देश र सहर वाट गाउँ फर्किँदै छन्। यो युवा जनशक्ति परिचालन गर्न केही दिगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ।
यो कर्म भूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ यहाँको धर्ती बाँझो छैन
हुन त यो सब सुरु गरी गाउँ-गाउँमा स्वावलम्बी उद्यम सुरु गर्ने सर्वोत्तम समय ५ वर्ष अघि थियो। त्यसो गरेका भए आज यो अन्योल हुन्न थियो होला। तर ५ वर्ष नेताले प्रदेशको राजधानी तोक्न, आफ्नै सेवा सुविधा वृद्धि कुर्सी बचाउने प्रयासमा र युवाले कन्सल्टेन्सी धाउनमै बिताए ! याद राख्नुहोस् यी फलफूल लाउने सर्वोत्तम समय ५ वर्ष अघि भए पनि दोस्रो उत्तम समय आज, हो अहिले हो!
अब हामीले शिक्षा र उद्यमशीलता प्रवर्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नै पर्छ। परदेशमा भएका धेरै युवा मित्रहरू नेपालमै केही तालिम केन्द्र, उद्योग–व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन्। यदि आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ। अब परदेशका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ–आफ्नै गाउँ ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सृजना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आज सामाजिक सञ्जालको जमाना छ। विदेश बस्ने आफन्त साथीभाइलाई आईफोन, प्ले स्टेसन, डीएसएलआर क्यामरा मात्रै नमागौँ। चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौँ। ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ।
परदेशमा भएका दाजुभाइले पनि मनन गरौँ:
विपद्मै हो सबले आमा सम्झिने, गाउँ-घर फिर्ने
यही हो सुनौलो अवसर माटोको ऋण तिर्ने!
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
के हाम्रो आफ्नो गाउँ ठाउँ र देशप्रति दायित्व छैन? के हाम्रो विज्ञता, साधन स्रोत र विदेशको बसाई दुई चार पैसा कमाई महँगा गाडी र फोनहरू किनी, देश विदेश घुमेका सेल्फी र लाइभ भिडीयोहरु सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमेन्ट गन्दै बस्नका लागि मात्रै हो? होइन भने आफ्ना गाउँ ठाउँका दाजुभाइहरूलाई मद्दत गर्न अघि सर्ने बेला हो यो।
अब हरेक प्रदेशमा कम्तीमा एउटा वैज्ञानिक अनुसन्धान प्रविधि प्रवर्धन तथा ग्रामीण उद्यमशीलता केन्द्र खोल्न सङ्घीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनु पर्छ। त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा उद्यमशीलता प्रवर्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यक पर्ने नेपाली मूलका दक्ष जनशक्ति लाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धा बाट चयन गर्नु पर्छ। यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ।
शिक्षामा ठोस सुधारका कुरा गर्दा ग्रामीण भेगका विद्यालयहरूमा अब प्रोजेक्ट र कम्प्युटर जस्ता आधुनिक उपकरणहरूका साथै इन्टरनेट पुर्याउनु एउटा मुख्य आधारभूत र व्यवहारिक कदम हो। अमेरिका र युरोपका प्राय सबै विद्यालयले अहिले भर्चुअलअनलाइन लर्निंग विधि (जुम क्लाउड मिटिङ’ ) बाटै भई रहेका छन् । यस्ता प्रविधिले आ–आफ्नो घरमा रहेका शिक्षक र विद्यार्थी जोडिने गर्छन् । आज खुला स्रोत सफ्टवेयर र प्रोजेक्टको माध्यमले अन्तरक्रियात्मक तरिकाले पाठ्यक्रम र शिक्षण सामग्री प्रदान गर्न सक्ने प्रविधि विकसित भएका छन् । नेपालका विद्यालयहरूमा पनि अब यो सुरु गर्नु पर्छ । अब शिक्षामा आधुनिक प्रविधि भित्र्याउने बेला आयो !
देश-विदेशमा भएका विज्ञहरूको सञ्जाल निर्माण गरी दुर्गम नेपालका विद्यालयहरूमा समय सापेक्ष पठन पाठन गर्न चुके हामी अझै पछि धकेलिने छौँ । कोरोना सङ्क्रमण फैलिन नदिन सचेतनामूलक अडियो, प्रकाशन र अपिल निकालेकोलगायत अनलाइन एजुकेसन प्रणालीमा जाने , शिक्षकको क्षमता विकासको साथै स्वयंसेवकका लागि बायोमेट्रिक, बायोलोजी, शिक्षण अस्पतालको विज्ञको टिम परिचालन गर्ने कार्य व्यवहारमा पनि चाँडै लागु होस् ! नेपालमै पनि डा । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले यस्ता उपकरणहरूको थोक उत्पादन गर्ने सोच बनाएको छ।
हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला हो यो। आज बीउ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ। आज हामीले आफ्नो गाउँ ठाउँमा गरेको योगदानले विज्ञान प्रविधि विकास र नवीनतम उद्योगहरूको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्यो भने भोलि हाम्रा भाइबहिनी, छोरा नातिले आफ्नो गाउँ ठाउँ छोडी बिदेसिनु पर्ने बाध्यता कम हुनेछ। देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नै पर्छ।
एकले थुकी सुकी सयले थुकी नदी !
गाउँ ठाउँमा स्थानीय युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्नु सबै नेपाली र नेपाली मूलका वैज्ञानिक उद्यमी , व्यवसायी र कृषक हरू एकजुट बनौँ। सरकारलाई सुझाव दिऊँ। दातृ संस्थाहरूमाझ प्रस्तावहरू लेखौँ, दक्ष जनशक्ति सँगै पुजी र प्रविधि भित्र्याऔँ। यो वैस्विक आर्थिक मन्दी र कोरोनाको महामारीले हामी सबैको आँखा उघारोस्!
हो एक हातले ताली बज्दैन। यस्तो विपद्मा साझा सहमतिमा विज्ञहरूको टोली बनाऊँ। सहकार्य गरी अघि बढौँ। एकले थुकी सुकी सयले थुकी नदी !
नेपालको जय होस!!
(लेखक जीव–रसायन शास्त्रका शोधकर्ता र नेपालको सम–सामयिक राजनीतिका विश्लेषक हुन। रसायन शास्त्रमा विद्यावारिधि गरेका उनको घर बझाङको खप्तडछान्ना–५ पिठेतोला हो। हाल उनी युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिकामा अध्ययनरत छन्।)