घरमै सस्तो मूल्यमा तरकारी
दाङमा उपभोक्ताले घरमै सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छन्। जिल्लाको घोराही उपमहानगरपालिकामा क्रियाशील उज्यालो बिहानी फाउण्डेशन, दाङ चेम्बर अफ कमर्श र बाई सेवालगायत संस्थाले किसानसंँग किनेकै मूल्यमा घरमै तरकारी उपलब्ध गराउन थालेपछि उपभोक्तालाई राहत भएको छ।
यसअघि घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको व्यवस्थापनमा घरमै उपलब्ध गराइएको तरकारीको मूल्य महँगो भएको उपभोक्ताले गुनासो गर्दै आएका थिए। घोराही ९ का शैलेश अधिकारीले पहिले भिण्डी र करेला रु १४० केजीका दरले किनेकामा सामाजिक सञ्जालमा घरमै किसानसंँग किन्ने मूल्यमा तरकारी उपलब्ध गराउने प्रचार देखेर मगाउँदा रु ६० मा किन्न पाएको बताए। लकडाउनमा नगरवासीलाई सहज सेवा दिइरहेको बताएका पहिलेका संस्थाले उपभोक्तालाई चर्को मूल्यमा तरकारी बिक्री गरेको उनले गुनासो गरे।
संस्थाको कार्यालयमा आउने र घरमै डेलीभरी गर्दा पनि एउटै मूल्य लिने गरेको संस्थाका प्रबन्धक मनोज श्रेष्ठले बताए। संस्थाले आजदेखि नगरपालिकाभरि सेवा शुरु गरेको दाङ चेम्बरका अध्यक्ष श्रीधर महराले बताए। गत सातादेखि होमडेलीभरी सेवा शुरु गरेको संस्थाले तयार गरेको अनलाइन फाराम भरेर तरकारीको माग गरेमा घरसम्म पु¥याउने गरिएको छ।
टोलटोलमा लैजानका लागि चेम्बरेले गाडी तथा घोराही १५ ले इन्धन उपलब्ध गराएको महराले बताए। अहिले लमहीमा धेरै तरकारी उत्पादन भएकाले धेरैजसो देउखुरी क्षेत्रबाटै आयात भएको उनले बताए। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सेवा र नाफामूलक संस्थाले बिक्री गर्ने दरमा केही अन्तर हुने बताए। रासस