सुदूर नेपाललाई विश्वसँग जोड्दै

चियर्स जिन्दगी !

२०७७ वैशाख १५, ०१:५१

कल्पना जोशी

बिचमा प्रवेश परीक्षा दिन र भर्ना गर्न गएपनि, २०७२ फाल्गुन २७ गतेदेखि औपचारिक रुपमै त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागको विद्यार्थीको हैसियत कायम गर्न मेरो राजधानीको, आवधिक, औपचारिक बसाई सुरु भयो। 

नयाँ ठाँउ, नयाँ क्याम्पस, नचिनेका मान्छेहरु, उसैमाथि घरमा आफ्नै काठमाडौं पढ्ने र त्रिवि अंग्रेजी बिभागको परिचयपत्र नै खल्तीमा बोक्ने सपनाको जिद्दीले राजधानी छिरेकी म, बेलाबेला डराउने र झस्किने पनि गर्थे के होला? कस्तो होला? सोचेजस्तो नभए भोली घर फर्किन नसकिने अवस्था पो आउछ कि? अविवाहित छोरीलाई राजधानी नपठाउन, पठाएपनि बिहे गरेर मात्रै पठाउन सल्लाह दिनेको कमि थिएन।

आफ्नो केटीसाथीहरु कोहीपनि काठमाडौं डिग्री गर्न नगएका र नाम सुनेका दिदीहरु पनि बिहेपछि कन्या क्याम्पसको होस्टेल बसेर पढेको खबरले झन मनोबल गिरेर आउथ्यो। आफ्नो बिरामी परिराख्ने कमजोर स्वास्थ्य अवस्था र आमा र घरबिना बिरामी पर्न अरु कुनै कारण नचाहिने मानसिक र भावनात्मक अवस्था दुबैले बेलाबखत सोच्न बाध्य गराइरहन्थे स्वयंलाई।

साथीहरू बने।परिचय पनि भयो। बिस्तारै वातावरण सामान्य जस्तो लाग्दैजाँदा मेरो स्वास्थ्य अवस्था असामान्य हुँदै गयो। सुरुमा कसैलाई भन्ने हिम्मत राखीन।एक त आफ्नै जिद्दीले घर छोडेको अर्को म आफैलाई आफ्नो ख्याल राख्न र अस्पताल धाउन त्यति मन नपर्ने। 

कानको ईन्फेक्सन बढेर लगातार कानबाट पानी बगिरहने, टाउको दुखिरहने, हातखुट्टा र जोर्नी दुख्ने र ज्वरो आईरहने समस्या सानातिना ट्याबलेट्स र ‘पेन किलर’ खाएर निको भयजस्तो नाटक ४ महिनाभन्दा बढी चलेन।‘प्रिजेन्टेसन’, ‘टर्म पेपर’, ‘इन्टर्नल एक्जाम’, ’फाईनल एक्जाम रुटिन पब्लिस्ड’ जस्ता मेरो जिन्दगी भन्दा बढी महत्व बोकेका घटनाहरु र मेरो अस्वस्थताले एन्काउन्टर गरेपछि संवेदनशिल घाईते म बन्न पुगे।

आफ्नै शरीरको तापले ओछ्यानमै आगो लाग्लाजस्तो हुन थाल्यो।कतिखेर साउनको गर्मीमा पनि घाम ताप्नुपथ्र्याे भने कतिबेला पङ्खामुनि बस्दापनि पसिनाले निथ्रुकै हुन्थे। हावापानीको शरीरसंग तालमेल यसरी मिलेन कि प्रत्येकचोटि को नुहाईपछि झनझन ज्वरो बढ्ने र हातखुट्टा दुख्ने लगाएतका अरु यथावत् बिरामीपना बढ्दै जान थाले।    

ज्वरो, कान दुखाइको औषधीहरुको निरन्तर सेवनले महिनावारीमा गडबडी आउनु स्वाभाविकै थियो। जति कमजोरी बढ्न थाल्यो त्यति छिटो महिनावारीको लक्ष्णहरु देखापर्ने र असामान्य रक्तश्राव पनि सहने बानी पार्न सिके।
होस्टेलको बसाइँसम्म अवस्था नाजुक भइसकेपनि सृजनाको उपस्थितिले होस्टेल बसाइँ सहज रहने विश्वास लिए।

अब मलाई तातोपानी, चिसोपानीको व्यवस्था, मेरो कपाल धोइदिने, कपडा धुन इनारबाट पानी तान्ने, कपडा घाममा सुकाउने–उठाउने, हुँदाहुँदा मेरा प्रयोग गरेका सेनिटरी प्याडका प्रतिहरु पनि बेरेर डस्टबिनमा राख्ने जिम्मेवारी अघोषीत रुपमै लिईन सृजनाले।

उनलाई धन्यवाद दिएर मैले कहिल्यै उनको बड्डापनको अपमान गरिन। हस्तलिखित मेरा ‘असाइन्मेन्टस्’ र ’टर्म पेपेर’ पनि चुपचाप टाईप गरेको पत्ता लाग्न दिईनन्। सधैं एन्जेलको पखेटा कहाँ हुन्छ र ! समय बितेको पत्तै नलाग्ने ‘ईन्टर्नल एक्जाम ’ सकिएपछि ’फाईनल एक्जाम रुटिन पब्लिस्ड’ भन्दै प्रकाश ‘गर्ल्स होस्टेल’ मै आइपुगपयो मलाई भेट्न। जति नआईजा भनेर मैले अनि सृजनाले कराएपनि कहिल्यै टेरेन उसले हामीलाई। उल्टो होस्टेलवाला आन्टिबाटै मौखिक पास लिएर निर्धक्क आएर मैले क्लास लिन नसकेका पाठहरु सबिस्तार बुझाउन थाल्यो। मेरो हालत नाजुक अनि हाम्रो अगाध साथित्वको भावना देखेर उल्टो आन्टिले पनि हामी तिनैजनाको साथित्वको तारिफ गर्न सुरु गर्नुभयो। 

सकिनसकि गरेर दुईवटा बिषयको प्रथम सेमेष्टरको ’फाईनल’ परीक्षा दिइसकेपछि असह्य भएर मलाई सृजना, दिदी अनि भिनाजुको करकापमा भिनाजुले अस्पताल लगेर जानुभयो। दिदी आफै बिरामी भएर पनि मेरो बढी चिन्ता लिईरहने गर्थिन। तेस्रो परीक्षा आउन ४ दिनको अन्तर भएकाले मैलेपनि होस् २ दिनमा फर्किहालिन्छ होला अनि चेतराज, प्रकाश, सृजना  जिन्दावाद  सोचियो। बाँकी आफूमाथि पनि भरोसा थियो।

तर अस्पतालको दुनियाँ भनेको मृत्यु र जीवनको बिचको एक पाईला अड्याउने ठाँउ रहेछ। अब प्रत्येक घटना मेरो अनुमान बाहिर गएर घट्न थाल्यो। ’ब्लडप्रेसर’ जाँचदेखि  ‘रेडियोलोजी’ सम्म हरएक मेडिकल चेकजाँच गरियो। मैले हिँडेरै जानसक्ने ठाँउमा पनि अनावश्यक रुपमै स्ट्रेचरको प्रयोग गर्न थालियो।

पिसाब र रगत परिक्षणको नतिजापनि ३ दिन यता नदिईने र ५ दिनपछि मात्रै उपचार के गर्नुपर्छ पत्ता लाग्छ भन्ने खवर बोकेर आएका डाक्टर र नर्सहरु  एकपछि अर्को इन्जेक्सन र औषधीहरु सुईमार्फत शरीरमा पठाउन थाले। के गर्नुपर्छ ५ दिनपछि मात्रै भन्न सकिन्छ। त्यतिन्जेल इमर्जेन्सी वार्ड र अब्जरवेसनमा राख्नुपर्छ भनेर दोहोर्याइरहनेहरु केको औषधि यति दिईराछन अत्तोपत्तो थिएन। प्रत्येक चोटिको ५ दिन शब्दको मेरो प्रति उत्तर हुन्थ्यो ‘मेरो एक्जाम ३ दिनपछि छ।’  

मेरो पढाइ र परिक्षाप्रतिको पागलपन बुझेर भिनाजु भने  मेरै पक्षमा हुनुहुन्थ्यो। अभिभावकको नाताले अस्पताल स्रोतको कुरा मान्नु उहाँको नैतिकता थियो। दिउँसोको समयामा दुइजना नर्सहरु आएर ४/४ बोतलमा औषधि, उनीहरुका अनुसार, भिटामिन र ग्लुकोज भनेर लगातार मलाई इन्जेक्सन मार्फत औषधी दिन थाले। रातिसम्म ८ वटा बाँया र ९ वटा इन्जेक्सन दाँयाहातमा दिइसकेपछि  एउटी नर्सले भनिन, ‘अब पेटको दुइटै छेउमा दिइनुपर्छ। हातमा नसा छेडिने सम्भावना धेरै छ।’

यतिकैमा बलजफ्ती आँखा खोल्दा कमजोर शरिरमा औषधिको प्रभावले शरिरबाट रगत सुईमार्फत फर्किएर औषधिको बोतलहरु पुरै रातो भएको देखे। हातहरु सुन्निएर सुई निकाल्न खोजेपनि भाँच्चिने स्थितिमा पुगेका थिए। डाक्टरको आवाज सुनियो, ‘आइस्प्याक दिनुस्। बिरामीलाई सुन्निएको ठाँउमा च्याप्न लगाउनुस। यो औषधि जसरी पनि सक्नुपर्छ।’

म आमा र घर सम्झिदै रुदै सुई घोपेको ठाँउ वरिपरि आइस्प्याकले च्याप्न थाले। दुईटै हातमा इन्जेक्सनको बराबर असर भएकाले एउटा हातले दबाउन खोज्दा अर्को हातबाट रगत फर्किएर बोतलमा जान थाल्यो। बिचबिचमा आफुलाई महत्ववपूर्ण लागेका पाठहरु याद गरिरहन्थे। ‘जसरी भएपनि परीक्षा दिनुपर्छ बरु परीक्षा भवनबाट सिधै अस्पताल फर्किउँला’ सोचिरहन्थे।

राति एक्कासी ज्वरो बढ्यो। इन्जेक्टेड औषधि बढी भएर बान्ता आउन थाल्यो। नर्सहरुले रक्तचाप कम भएको र तापक्रम बढि भएको भन्दै थप औषधि खुवाउनुपर्ने र शरीर चिसो कपडाले भिजाउनुपर्ने सुनाए। मैले लाख कोसिस गर्दापनि कम्बल ओढ्न दिईएन। ‘कम्बल ओढे शरीरको तापक्रम बढ्छ। तपाईंलाई उस्तै खतरापुर्ण ज्वरो छ। शरीर चिसो भयोभने यो ज्वरो घट्छ। यी शब्दहरुले सिङ्गो मेडिकल युनिटमाथि दया लागेर आयो ‘कति लजिकल कुरा।’

उनीहरुकै करकापमा ‘मसरुम सूँप’ खान सुरु नगर्दै नजिकैको  बान्ता गर्न राखिएको बाल्टिमा बान्ता गरेपछि सबैजना चुप लागे। फेरि औषधी दिने काम सुरु भयो म औषधि लिने र बान्ता गर्नेकाम बडो तालमेल सहित गर्न थाले। 
दोस्रो दिन मेरो पनि आन्दोलन सुरु भयो कि’ आज साँझ जसरी पनि घर जान्छु।पर्सि मेरो परीक्षा हो। दिउँसोभरि हुन्छ भन्ने आश्वासन दिएको अस्पताल स्रोतले साँझ भोलेन्टरी एक्जीटको बिकल्प नरहेको बतायो, जसको मतलव अहिलेसम्मको उपचार पद्धति फाईदाजनक भएपनि नभएपनि, बिरामीको हालत अझै खराब भएपनि वा ज्यानै गएपनि न अस्पताल जिम्मेवार हुनेछ न त बिरामीको अभिभावकमाथि केही आरोप लगाउन मिल्ने छ।मैले हिम्मत जुटाएर हुन्छ। भनेर कागजमा दाँयाबाँया औँठाछाप लगाए।

अचानक आँखा खुले टाउको अझैभारी भएजस्तो भयो। हातखुट्टा अझै झन्झनिन थाले। दुईवटै हातमा ८ अनि ९ ठाँउमा इन्जेक्सनको घाउले लेख्न सकुला कि नसकुला भन्ने चिन्ताले पिरोल्न थाल्यो। भिनाजुलाई घर जाने र पर्सि परीक्षा दिने कुरा गर्दा,  परीक्षा पर्सि नभइ भोलि भएको कुरा जानकारी दिनुभयो।

बल्ल थाहा पाए कि बिचको एकदिन गाएब भएको रहेछ। मैले कागजमा सहमति जनाउने बित्तिकै बेहोस गर्ने ईन्जेक्सन दिइएको रहेछ। म जोरले रुन थाले। शरीरको तापक्रम भन्दा बढी तातोपना बोकेका आँशुहरु कमजोर शरीरबाट भल्भल्ती बग्न थालेपछि जसोतसो गरि म अस्पतालमा अब आफू निको नहुने, आमालाई अन्तिमचोटि भेट्ने र परीक्षा जसरी पनि दिने दृढ निश्चयका साथ फर्किए। मेरो जिद्दीको अगाडी कसैको केही सीप लागेन। 

त्यो बिचमा सृजना र प्रकाशको धेरै चोटी फोन आएको रहेछ। भिनाजुले जानकारी गराउनुभएको रहेछ अवस्थावारे। आमाले ‘बाँचेपछि फेरि अर्कोसालदेखि पढ्ली। या त त्यसको बुबा र म आँउछौँ या त त्यसलाई घर ल्याउ।’ भन्नुभएछ। हाँसो उठ्यो, एउटी आमाले आमा भन्दाबाहेक केही अरु सोच्नै नसक्नु हुँदोरहेछ।

सृजनाले मलाई पछाडिबाट कम्मरसहित समातेर, प्रकाशले छाता ओढाएर र पानीको बोतल बोकेर परिक्षा भवन सम्म लगेर राखेपछि मेरो आफैसंगको लडाइँ सुरुभयो अब। कती दिनदेखिको भोको शरीर, सुन्निएका हातहरु, टाउको फुट्ला जस्तै दुखिरहेको, हातखुट्टाहरु काप्न थाले, पुरै जिउ काप्न थाल्यो। नजिकैको सिटमा बसेकि साथी मीराले मेरा दुइटै खुट्टा र एउटा हात मेरै आग्रहमा मेरो साम्मुनेको डेस्कको खुट्टामा मेरे पछ्यौराले बाँधिदिइन। र आफै दुई घुट पानी खुवाएर आफ्नो सिटतिर लागिन।

उत्तरपुस्तिका बाँडियो। प्रश्नपत्र बाँडियो। हाजिरी हुन थाल्यो। मलाई भने ३ घण्टाको परीक्षा अवधिमा कमसेकम १२/१५ चोटि बान्ता आउने निश्चित थियो। डराइ–डराई दिवाकर उपाध्याय सरनजिक गए आफ्नो समस्या बताउन। मैले केही नबोल्दै वहाँले प्रश्न गर्नुभयो। ‘के भयो बा तिमीलाई, पानी पिउछेऊ?’ मेरा आँखा रसाए। पानी आफैसंग रहेको र आफुलाई एकचोटि मात्रै होइन धेरै पटक बाहिर जानुपर्ने अवस्था रहेको जानकारी गराउन नपाँउदै उहाँले ‘तिमीले नसोधी जान र आउन पाउछौ’ भन्नुभयो।  कतिखेर दाँया हातले, दायाँ हात नचल्दा बाँयाहातले लेख्ने प्रयास गर्दै, खुट्टा फुकाल्दै, कुल्ला हाल्न पानीको बोतल साथमा लगेर म परीक्षा अवधीभर १७ पटक बान्ता गर्न जाँदा सरले दया र करुणाका साथ हेरिरहनुभएको थियो।

यस्तो लाग्थ्यो कोही जीवनदाताको मुर्ति भगवानस्वरुप आएर बसेको छ। मेरा शब्द कम पर्छन हजुरको लागि दिवाकर सर! हजुरलाई थाहा अझै नहोला मैले त्यो विषयमा ए–ग्रेड ल्याएको। पछिका परिक्षाका दिनहरूमा पनि सृजना र प्रकाशको साथ त्यहीँ रुपमा रहिरह्यो। रोशनीले मेरो निधार छामेर ‘जुस पिउछौ? पानी पिउछौ? म बोकेर लगौं’ भनेका शब्दहरुप्रति मेरो सम्मान छ। चेतराजले अनुहार  हेरेर  मैले बोल्न सकिन भावुक भए। केही सहयोग चाहिएपछि जतिखेर पनि  भन्दा हुन्छ म हाँजिर हुन्छु।’ भनेर  फोन मार्फत र प्रकाश मार्फत गरेका प्रतिबद्धताप्रति भावुक प्रेम छ। सबैसाथिहरुको अनुहारमा म प्रतिको माया र मेरो निधार छामेर सन्चोबिसन्चो बुझेको अझै स्पर्श हुन्छ।सबैप्रति अधिक माया छ।

औषधिको बढी सेवनले, मेरो शरीर सुक्दै गयो। २१ बर्षको उमेरमा छातिमा हड्डी बाहेक केही बाँकी रहेन, कपालजति सबै झरेर आफूलाई केटी हुँ भन्न पनि लाज मान्नुपर्ने अवस्था आयो। मेरी बहिनिको हौसला जहिल्यै कायम रहन्थयो। मलाई धेरैले ढाडस र सान्त्वना दिन्थे। कतिले मजाक उडाउने र नजिक आउन नमान्नु पनि स्वाभाविकै थियो।

जबसम्म म मर्छु लाग्दैन तबसम्म मर्न सजिलो नरहेछ। हाम्रो दृढता र धेैर्यताका अगाडि हरेक शत्यले शिर निहुराउन बाध्य हुन्छ। मृत्युले पनि जिन्दगीको सहनशीलता जाँच्न कहिलेकाहीँ जिस्काईदिन्छ। उक्त जिस्काईलाई भर्खर परेको पहिलो प्रेमजस्तै प्रतिक्रिया देखाउनुपर्ने रहेछ, प्रत्येक परीक्षामा इमानदारीपूर्वक सतप्रतिशत अंक बाँच्न सजिलो छ।

मर्नलाई जीवन र जीवनसंग जोडिएका सबै पक्षहरूले आत्मसमर्पण गर्नु जरुरी छ। आफ्ना मान्छे, अधुरा सपना, अपूर्ण प्रेम कहानी र आफ्नो दायित्वलाई छोडेर जान नचाहनेले  मृत्युको पनि मृत्यु रहेको सम्भावना सहजै देख्दछन। आज मेरा साथीहरू परिवार बनेका छन्। मलाई त्रिविले प्रमाणपत्र मात्रै होईन जिन्दगी पढाएको छ। मलाई साथीको रुपमा परिवार दिएको छ। चियर्स जिन्दगी। लभ यु।
 

कमेन्ट लोड गर्नुस