दार्चुलामा भारतबाट लसुनसँगै लागु औषध लुकाएर ल्याउने दुई पक्राउ
दार्चुला : भारतबाट लसुनसँगै लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा दुई जना दार्चुलामा पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ बाट लसुनसँगै लुकाईछिपाई लागु औषध ल्याउने क्रममा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्रप्रसाद जोशीले लागु औषध लुकाईछिपाई ल्याउने महाकाली ५ का ३१ वर्षीय अजय सिंह ठगुन्ना र ४८ वर्षीय नरेन्द्र सिंह ठगुन्नालाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरुको साथबाट १५ ट्याब्लेट नाइट्राभेट, २८ प्याकेट स्पास, ४० ट्याब्लेट प्याभन स्पास प्लस, २ प्याकेट एक्सट्रा पावर, तीन सिसी कोरेक्स, ३० ट्याब्लेट इको स्पेनिस बरामद गरिएको प्रहरी निरिक्षक जोशीले बताए।
यस्तै उनीहरुले प्रयोग गरेको से २ प ३७७३ नम्बरको मोटरसाइकल समेत नियन्त्रण लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।