सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीमाथि कसरी भयो आक्रमण ? स्थानीय र सशस्त्रको फरक भनाई

२०७७ वैशाख १२, ०७:१५ खबर संवाददाता

धनगढी : भारतसंग जोडिएको कैलालीको एक सय एक किलोमिटर अहिले सशस्त्र प्रहरीले सिल गरिसकेको छ। सो क्रममा ८२ बढि स्थानमा चेकपोष्ट स्थापना गरी पाँच सय भन्दा बढि सशस्त्र प्रहरी परिचालन गरिएको छ। लुकीछिपी भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले निगरानी बढाएको हो।

मंगलवार राती पनि धनगढी उपमहानगरपालिका– २ मन्दिरघाटमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सो क्रममा भारतीय क्षेत्रबाट आएकाहरुले सशस्त्र प्रहरीमाथि आक्रमण नै ग¥यो तर उक्त कुरा अहिले सम्म सशस्त्र प्रहरी बल नम्वर ३४ गण हेडक्वाटर कैलालीले भने स्विकार गरेको छैन्। 

यद्यपी सीमा क्षेत्रका स्थानीयले भने सशस्त्र प्रहरीमाथि कुटपिट नै भएको बताएका छन्। मन्दिरघाट नजिकै बस्ने एक जना स्थानीयले भने, ‘भारतीय क्षेत्रबाट समूहमा आएका युवाहरुले एक जना सशस्त्र प्रहरीमाथि कुटपिट नै गरेका थिए। अर्को पोष्टबाट सशस्त्र प्रहरी गएपछि मात्रै उनीहरु भागेका हुन्।’

सीमा क्षेत्रका स्थानीयका अनुसार सोही साँझ नेपालमा भारतबाट सामान आयात गर्ने ट्रकहरुमा नेपाली पनि आएका थिए। ‘उनीहरुलाई ट्रक चालकले भारतको बनगाउँ पुगेपछि अगाडि चेकिङ हुने भन्दै उतारिदिएका थिए,’ अर्का स्थानीयले भने, ‘बनगाउँका स्थानीयले नेपालीहरुलाई सीमा कटाईदिने भन्दै नेपालीहरुबाट रकम संकलन गरेका थिए। सीमा कटाउने क्रममा सशस्त्र प्रहरीसंग भेट भएपछि आक्रमण भएको हो।’ 

यता सशस्त्र प्रहरी बल नम्वर ३४ गण हेडक्वाटर कैलालीले भने सशस्त्र प्रहरीमाथि कुनै आक्रमण नभएको जनाएको छ। सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले भने, ‘केही भारतीय नागरिक नेपालीले नदि किनारमा लगाएको तरकारी चोर्न आएका रहेछन्। सो क्रममा उनीहरुलाई भगाउँन खोज्दा लडेर एक जना सशस्त्र प्रहरी सामान्य घाईते भएका हुन्। कसैले पनि आक्रमण गरेको छैन्।’ उनले भारतीय पक्षलाई समेत निगरानी बढाउन आग्रह गरिएको बताए। 

यता कतिपय स्थानीयले भने सशस्त्र प्रहरीले आक्रमण नभएको दावी गरेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि नै विभिन्न आशंका गर्न थालेका छन्।  
 

कमेन्ट लोड गर्नुस