सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बीउ उत्पादक किसान मर्कामा

२०७७ वैशाख १२, ०५:०२

कैलाली:  कैलालीमा धानको बीउ राख्ने बेलामा किसानले धानको बीउ खरीद गर्न पाएका छैनन्। वैशाखको अन्तिम सातादेखि धानको बीउ राख्ने गरिए पनि यस वर्ष लकडाउनका कारण धानको बीउ पाइएको छैन। 

बीउ उत्पादक कृषि सहकारी र कम्पनीले धानको बीउ बजारसम्म पु¥याउन नसक्दा किसान समस्या परेका छन्। बीउ उत्पादन संघ टीकापुरका अध्यक्ष रामफल कठरियाले बीउको माग भए पनि आफूहरुले मागअनुसारको पठाउन नसकेको बताए। ‘‘धेरै किसानले दैनिक फोन गर्न थालेका छन, हामीसँग बीउ सञ्चित छ तर पठाउन सकिएको छैन’’, अध्यक्ष कठरियाले भने, ‘‘कैलालीमा उत्पादन भएको बीउ कैलाली मात्र नभई सुदूर र प्रदेश नं ५ का अन्य जिल्लामा पनि जान्छ।’’ उनले बीउ ढुवानी गर्न प्रशासनिक झण्झटका कारण आफूहरु तनावमा रहेको बताए। 

अहिले टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा सात बीउ उत्पादक कृषि सहकारीमार्फत यस क्षेत्रका किसानले धान, गहुँ, तेलहन र  दलहन बालीको बीउ उत्पादन गरिरहेका छन्।  उनीहरु खाद्यान्न बालीको मूल बीउ, प्रमाणित बीउ र उन्नत बीउ उत्पादन गर्छन्। यी सहकारी तथा कम्पनीले स्थानीय किसानलाई बिक्रीवितरण गर्नाका साथै देशैभरिका जिल्लामा पु¥याउने काम गर्छन्। 

‘‘चार वर्ष पहिले कैलाली जिल्लामा भैरहवा, बुटवल र  नेपालगञ्जबाट धान, गहुँको बीउ ल्याउनु पथ्र्याे’’, नमूना बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष जितबहादुर चौधरीले भने, ‘‘आजभोलि कैलालीको बीउ देशैभरिका जिल्लामा जान थालेको छ। विभिन्न जिल्लाबाट माग आउन थालेको छ तर पुगाउन सकेका छैनौँ।’’

यस क्षेत्रका बीउ उत्पादक कृषि सहकारी र कम्पनीसँग गरी अहिले धानको उन्नत बीउ पाँच हजार क्विण्टल छ  जसमध्ये करीब दुई हजार क्विण्टल कैलाली जिल्लाका किसानले प्रयोग गर्छन् भने बाँकी अन्य जिल्लामा निर्यात हुने गरेको छ। ‘‘समयमा किसानलाई बिक्रीवितरणको लागि बीउ ग्रेडिङ, उम्रने शक्ति मापन, ट्याग र प्याकिङजस्ता सबै तयारी पूरा भएका छन’’, किसान सुन्दरलाल चौधरीले भने, ‘‘लकडाउनकै कारण किसानमाझ पु¥याउन कठिन भयो। समयमै बीउ बिक्री नभए सहकारी र कम्पनी घाटामा जान्छन्।’’

सरकारले कृषि वस्तु तथा अत्यावश्यक वस्तुलाई पासमार्फत कार्य सञ्चालन गर्न सकिने नीति बनाएको छ। लकडाउनमा ढुवानी गर्ने साधन नपाउने, पाए पनि ढुवानी शुल्क महंँगो र  सवारी पासका लागि अनुमति लिन झण्झटिलो रहेको किसानको गुनासो छ। 

‘‘वडा, जिल्ला हुँदै अन्य जिल्लासँग समन्वय गरेर मात्रै ढुवानी गर्न पाइने भएकोले समस्या भएको छ’’, सहकारीका सदस्य सरोज चौधरीले भने, ‘‘बीउ उत्पादकहरु समस्यामा परेको अवस्था छ । यसले उत्पादनमा पनि असर गर्छ।’’ बीउ ढुवानीको समस्याका बारेमा जिल्ला समन्वय समिति कैलालीको संयोजक सूर्यबहादुर थापाले जिल्ला प्रशासनसँग समन्वय गर्ने काम भइरहेको बताए।  -रासस 

कमेन्ट लोड गर्नुस