लकडाउनको मौका छोपी डडेल्धुरामा वन अतिक्रमण
डडेल्धुराः लकडाउनको समयमा डडेल्धुराको महाभारत तथा चुरे क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण बढेको छ। वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीहरुलाई छल्दै डडेल्धुराका दर्जनौं स्थानमा वन अतिक्रमण भइरहेको छ।
जिल्ला सदरमुकाम नजिकै रहेको त्रिपुरा सामुदायिक वनको तडिपाटा क्षेत्रमा लकडाउनको समयमा वन अतिक्रमण बढेको हो। यहाँको वन क्षेत्रमा फडानी गरि अतिक्रमण बढाएको स्थानीय तिलक भट्टले बताए। लकडाउनको मौका छोपी जंगल फडानी गरेर अतिक्रमण भइरहेकोे उनले बताए।
वन अतिक्रमण गरिएको बारेमा सामुदायिक वनका पदाधिकारीहरुलाई जानकारी गरिएको र पटक–पटक वन कार्यालयलाई समेत जानकारी गराउँदा ध्यान नदिएको त्रिपुरा सामुदायिक वनको तडिपाटा उपभोक्ता महादेव भट्टले गुनासो गरे। विगतका वर्षहरुमा अतिक्रमण हुने गरेको भएपनि पहिलेभन्दा अहिले अतिक्रमण बढेको उपभोक्ता उनले बताए।
वनक्षेत्र अतिक्रमणका विषयमा वन डिभिजन कार्यालय डडेल्धुरालाई जानकारी गराएको भएपनि कुनै पहल नभएको त्रिपुरा सामुदायिक वनको तडिपाटाका अध्यक्ष पुष्पराज जोशीले बताए। ‘अतिक्रमणका विषयमा वन डिभिजन कार्यालयलाई पत्राचार गरि अतिक्रमण हटाउन पटक–पटक आग्रह गरिएको हो’ उनले भने।
लकडाउनका कारण योजना अनुसार काम गर्न नसकिएकोे वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताइन्। निमित्त प्रमुख लामाका अनुसार तुरुन्तै एक्सनमा जान मातहतका सबै कार्यालयलाई पत्राचार गरिएको जनाइएको छ। ‘स्थानीय तहलाई पत्रचार गरिसकेका छौं’ उनले भनिन्, ‘लकडाउन खुलेपछि हामी तुरुन्तै अतिक्रमण गरिएको रहेछ भने हटाउने छौं।’
जिल्लाको भित्री मधेस चुरे क्षेत्रको वन समेत अतिक्रमण चपेटा परेको छ। सालका रुख भएको वन क्षेत्र र उर्वर भूमि भएकाले स्थानीयहरुले काठ कटानी गरि तस्कर गर्न र खेतीपाती गर्न वन क्षेत्र अतिक्रमण गर्दै आएका छन्।
जिल्लाको कुल वन क्षेत्र १ लाख १५ हजार १ सय ६९ हेक्टर छ। क्षेत्रीय वन निर्देशनालय कैलालीको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा २८ हजार ४ सय ३ दशमलव २८ हेक्टर क्षेत्रफल वन अतिक्रमणको चपेटामा परेको छ।