राष्ट्रिय युवा संघ बझाङ र प्रदेशसभा सदस्यद्वारा धनगढीमा समस्या परेकालाई राहत
प्रताप ओली, बझाङ : राष्ट्रिय युवा संघ बझाङको आयोजना र प्रदेशसभा सदस्यहरुको सहयोगमा धनगढीमा डेरा गरि बस्ने विद्यार्थी र समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको छ। धनगढीमा डेरा गरि बसिरहेका ५५ जना विद्यार्थी र थप अन्य समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो।
बझाङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु देवकी मल्लले नगद १५ हजार, शान्ती नेपालीले नगद १५ हजार, माया तामाङ बोहराले ५ क्वीन्टल चामल र राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य प्रेम सिंहले नगद ८ हजार सहयोग गरेको राष्ट्रिय युवा संघ जिल्ला किमिटी बझाङका संयोजक विनोदबहादुर सिंहले बताए।
सबैको सहयोगबाट १० क्विन्टल चामल, ७० किलोग्राम दाल, ७० लिटर तेल जम्मा गरि मंगलबार घरघरमै पुगेर राहत वितरण गरिएको संयोजक सिंहको भनाई छ। राहत वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ जिल्ला कमिटि बझाङका संयोजक विनोदबहादुर सिंह, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिलबहादुर थापा (तुफान), पूर्व लेखा आयोग सदस्य लोकेश सिंह, राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङका सदस्य राजु सिंह लगायतका व्यक्तिहरु खटिएका थिए ।