सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आगामी निर्वाचनको तयारी सुरु, मतदाता नामावली अद्यावधिक गरिदै

२०८३ साउन २५, ०५:३४ लक्ष्मण ढुङ्गाल

धनगढी: आगामी निर्वाचनलाई लक्षित गर्दै कैलालीमा निर्वाचन तयारी तीव्र पारिएको छ। मतदाता नामावली अद्यावधिक, निर्वाचन शिक्षा विस्तार, डिजिटल सेवा प्रवाह, निर्वाचन सामग्री व्यवस्थापन तथा स्थानीय तहसँगको समन्वयलाई प्राथमिकतामा राख्दै जिल्ला निर्वाचन कार्यालयले तयारी अघि बढाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ को निर्वाचनसम्बन्धी कामको समीक्षा तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न निर्वाचनका उपलब्धि, चुनौती र आगामी निर्वाचन व्यवस्थापनका विषयमा छलफल गरिएको थियो। कार्यक्रमको प्रस्तुतिकरण प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले गरेका थिए। निर्वाचन कार्यालयका अनुसार २०८३ भदौ १५ गतेसम्म प्राप्त हुने अद्यावधिक विवरण समेटेर अन्तिम मतदाता नामावली तयार गर्ने तयारी गरिएको छ। विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण स्थानीय तहसँगको समन्वयमा अद्यावधिक गर्ने तथा मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक कार्यलाई निरन्तरता दिने योजना कार्यालयको छ।

मतदाता उमेर निर्धारणका लागि २०८२ भदौ १५ गतेलाई आधार मिति तोकिएको छ। स्वीकृत कार्यविधिअनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि स्थानीय तहबाट आवश्यक सहयोग तथा सहजीकरण सुनिश्चित गर्ने कार्यालयले जनाएको छ।

विद्यालयदेखि समुदायसम्म निर्वाचन शिक्षा

निर्वाचनलाई प्रभावकारी, समावेशी र सहभागितामूलक बनाउन कार्यालयले निर्वाचन शिक्षा कार्यक्रमलाई समेत विस्तार गरेको छ। विद्यालय, समुदाय, महिला, युवा तथा निर्वाचन प्रक्रियामा कम पहुँच भएका समूहलाई लक्षित गरी निर्वाचन शिक्षा सञ्चालन गर्ने, नमुना मतदान अर्थात् ‘मक पोलिङ’लाई प्रभावकारी बनाउने तथा मतदान प्रक्रियाबारे व्यवहारिक जानकारी दिने योजना अघि सारिएको छ।

विद्यालयस्तरीय लोकतान्त्रिक निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ३६ वटा विद्यालयमा ४३ वटा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। ती कार्यक्रममार्फत विद्यार्थी तथा शिक्षकलाई निर्वाचन प्रणाली, मताधिकार र मतदान प्रक्रियाबारे व्यवहारिक जानकारी दिइएको थियो।

त्यस्तै, ११ वटा विद्यालयका १५ वटा समूहलाई निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन गराइएको छ। त्यसक्रममा विद्यार्थी तथा शिक्षकलाई निर्वाचन प्रक्रिया, मतदान प्रणाली र निर्वाचन सामग्रीबारे जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ।

गौरीगंगा नगरपालिका–५ मा सञ्चालन गरिएको समुदायमा आधारित मतदाता शिक्षा कार्यक्रमलाई कार्यालयले नयाँ अभ्यासका रूपमा लिएको छ।

स्थानीय आवश्यकता अनुसार विषयवस्तु र सिकाइ विधि प्रयोग गरी नमुना

मतदानमार्फत वास्तविक मतदान केन्द्रकै जस्तो वातावरण सिर्जना गरेर नागरिकलाई मतदान प्रक्रियाको अभ्यास गराइएको थियो। यसबाट सहभागीले मतदानका विभिन्न चरण व्यवहारिक रूपमा सिक्नुका साथै सही तरिकाले मतदान गर्ने आत्मविश्वास र सीप अभिवृद्धि भएको कार्यालयको निष्कर्ष छ।

निर्वाचन शिक्षालाई स्थानीय शासन, नागरिक सहभागिता र सुशासनसँग जोड्ने प्रयाससमेत गरिएको छ। स्थानीय सरकार, प्रदेश निर्वाचन कार्यालय र सञ्चार संस्थाबीच सहकार्य गर्दै स्रोत, जनशक्ति र पहुँचको प्रभावकारी उपयोग गर्ने अभ्यासलाई कार्यालयले उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

चुनौती व्यवस्थापनका लागि विस्तृत पूर्वयोजना, स्पष्ट कार्यविभाजन, नियमित समीक्षा तथा समन्वय बैठक र जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहबीच अन्तरनिकाय सहकार्यलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।
निर्वाचन सामग्रीको व्यवस्थित भण्डारण, वितरण तथा अभिलेखीकरणसँगै कर्मचारीको सक्रिय परिचालनमार्फत निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउने अभ्यास गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा कैलालीमा ५ लाख ५१ हजार ५२ जना मतदाता रहेकोमा ३ लाख २ हजार ९० जनाले मतदान गरेका थिए। कुल खसेको मतमध्ये २ लाख ८३ हजार २ सय ९२ मत सदर र १८ हजार ७ सय ६१ मत बदर भएको तथ्यांक निर्वाचन कार्यालयले प्रस्तुत गरेको छ। कैलालीमा कुल मतदान प्रतिशत ५४ दशमलव ८२ प्रतिशत रहेको छ।

कार्यालयले आगामी निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षा तथा निर्वाचन प्रणालीबारे जानकारी विस्तार गर्ने अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

सुदूरपश्चिममा महिला उम्मेदवारी न्यून

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सुदूरपश्चिम प्रदेशबाट कुल २०३ जना उम्मेदवार रहेको तथ्यांक प्रस्तुत गरिएको छ। तीमध्ये १८८ जना पुरुष र १५ जना महिला उम्मेदवार थिए।
कुल उम्मेदवारमध्ये पुरुषको हिस्सा करिब ९२ दशमलव ६ प्रतिशत र महिलाको हिस्सा ७ दशमलव ४ प्रतिशत मात्र रहेको देखिएको छ। यसले निर्वाचनमा महिला सहभागिता र प्रतिनिधित्व बढाउन अझै थप प्रयास आवश्यक रहेको देखाएको छ।

निर्वाचन सामग्री तयारी अवस्थामा

आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयमा उपलब्ध सामग्रीको विवरणसमेत अद्यावधिक गरिएको छ। कार्यालयमा मतपेटिका, स्केल, छेकबार, रबर स्ट्याम्पलगायत आवश्यक निर्वाचन सामग्री मौज्दात रहेको जनाएको छ।
निर्वाचन सामग्रीको सुरक्षित भण्डारण, आवश्यकताअनुसार वितरण, अभिलेखीकरण तथा सामग्रीको भौतिक अवस्थाको नियमित परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

यससँगै कार्यालयले शून्य बाँकी फाइल अभियान, सेवा प्रवाहमा सुधार, अभिलेख व्यवस्थापन तथा भौतिक पूर्वाधार सुधारका कामलाई समेत अघि बढाएको जनाएको छ। निर्वाचनसम्बन्धी कामलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वयलाई मुख्य आधार बनाइएको छ। मतदाता नामावली अद्यावधिक, निर्वाचन शिक्षा, मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन, निर्वाचन सामग्री व्यवस्थापन र नागरिकसम्म निर्वाचनसम्बन्धी सूचना पुर्‍याउने काममा स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यम तथा नागरिक समाजसँग सहकार्य गर्ने योजना कार्यालयको छ।

निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई व्यवस्थित, विश्वसनीय र सहभागितामूलक बनाउन मतदाता नामावलीलाई अद्यावधिक तथा त्रुटिरहित बनाउने, निर्वाचन शिक्षालाई समुदायस्तरसम्म विस्तार गर्ने, डिजिटल सेवालाई थप सहज बनाउने र आवश्यक निर्वाचन सामग्री तथा जनशक्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

गत निर्वाचनका उपलब्धि र चुनौतीको समीक्षा गर्दै आगामी निर्वाचनका लागि पूर्वतयारीलाई तीव्र बनाइएको कार्यालयले जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस