सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोट माग्दै दैलो चहारेका कैलालीका एक वडाअध्यक्षले राहत माग्दा भिखारी भनेपछि..

बर्दगोरियाको बौनिया
बर्दगोरियाको बौनिया
२०७७ वैशाख ८, ०७:२० कमल सावद

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका– २ की सिमा सिँहको ४ जनाको परिवार छ। श्रीमान रोजगारीको लागि भारत गएका छन्। दिदिको छोरो र आफ्नो छोरालाई पाल्दै आएकी उनीलाई आजभोली परिवार कसरी पाल्ने भनेर पर्नु पिर परेको छ। 

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण लकडाउन भएपछि उनका श्रीमान भारतमा फसेका छन्। आफुसँग भएको पैसा सकिएपछि उनले श्रीमानलाई पैसा पठाउन अग्रह गरिन। तर निरिह श्रीमान के गरुन भारतमा समेत लकडाउन भएकाले उनले पैसा पठाउन सकेनन्। 

‘किनेर ल्याएको सबै खाद्यान्न सकियो, बुढाले भारतबाट पैसा पनि पठाउन पाउनुभएको छैन्’ उनले भनीन , ‘कसरी परिवार पाल्ने भन्ने चिन्ता बोकेका हामीलाई भेट्न वडाअध्यक्ष आएका थिए।’ त्यो दिन वडाअध्यक्ष भेखु चौधरीले उनीसहित विपन्न परिवारलाई राहत पाइन्छ भनेर ढुक्क बनाएको उनले बताइन। 

‘राहत पाइन्छ नत्र म घरबाट दिउँला भनेर उहाँले भन्नुभएको थियो तर राहत बोकेर आएको ट्याक्टर राहत नै नदिइ फर्केपछि हामी अचम्मित भयौं’ सिमा सिँहले भनीन, ‘राहत नपाएपछि हामी वडाअध्यक्षलाई भेट्न गयौं तर उनले राहत नपाए गाउँपालिका जाउँ खान नपाएका भिखारीहरु भन्दै उल्टै झपारे।’

त्यसपछि अघिल्लो दिन वडाअध्यक्षका चिल्लाकुराले आस मानेर गएकी उनीसहित अन्य निराश भएर फर्किनुको कुनै विकल्प थिएन। गाउँमा पहुच भएका, बजारमा पसल भएका, पक्की घर भएकाहरुले मात्र राहत पाएको सिँह बताउँछिन। 

दैनिक ज्यालादारी गर्दै आएका परिवारले कुनै राहत नपाएको उनी गुनासो गर्छिन। आक्रोशित हुँदै दिनेश खबरसँग सिँहले भनीन, ‘यो सबै नेताको क्रियाकलाप हो, नेताहरु गतिला भएनन्। जसका पसल छन्, जसका २५ बिगाहका जमिन छन् उनले राहत पाए हामीजस्ताको को नै छ र ?’ 

लकडाउन भएपछि बौनियाका मानबहादुर परियारलाई पनि समस्या भएको छ। उनको  ९ जना सदस्यको परिवार छ।  ‘राहत दिने भन्दै नाम लगेका त थिए। तर आएको राहत पनि फिर्ता गएको छ’ उनले भने, ‘जम्मा तीन जनालाई मात्र दिइएको छ, दोस्रो पटक दिन्छौ भनेका थिए तर दिएनन्। बजारमा समेत चामल अभाव भएका कारण परिवारलाई बचाउन समस्या भएको उनले बताए।  

उनी जस्तै बर्दागोरिया गाउँपालिका वडा नम्बर २ का ६० भन्दा बढि परिवारले राहत पाएका छैनन्। मजदुरी गरीरहेका र राहत पाउनेको सूचीमा नाम भएकाहरुले समेत राहत नपाएको स्थानीयको गुनासो छ। 

वडा नम्बर २ का स्थानीयले राहत नपाएको गुनासो बारे वडाअध्यक्ष भेखु चौधरीले सबैलाई राहत वितरण गर्न नकसकिएको स्विकार गरे। ‘राहत नपाएको धेरैको गुनासो छ, सबैलाई एकैपटक राहत वितरण गर्न सकिँदैन’ उनले भने, ‘२ नम्बर वडामा मात्रै तीन सय ९९ जनालाई राहत वितरण गरेका छौ, अब दोस्रो चरणमा नपाएकालाई पनि वितरण गर्छौ।’

आफुहरुले साढे ३ सय जनालाई बाढ्ने भनेर योजना बनाएको तर अन्यलाई पनि वितरण गरिएकाले धेरै छुटेको वडा अध्यक्ष चौधरीले बताए। ‘सूचिमा नभएका राहत माग्दै रुन थाले उनीहरुलाई बाड्दाबाड्दै सकियो, अब छुटपिटलाई राहत वितरण गर्ने तयारीमा छौ।’ साथै उनले राहत माग गर्ने नागरिकलाई भिखारी नभनेको बताएका छन्।

बर्दागोरियामा पहुँचका आधारमा राहत दिएको गुनासो आउन थालेपछि गाउँपालिकाले भने  दुई हजार ६ सय बढिलाई राहत वितरण गर्ने योजना बनाएको दावी गरेको छ। गाउँपालिकाले पहिलो चरणको राहत वितरण सकिएको जनाएको छ। गाउँपालिकाले पहिलो चरणमा एक हजार ९ सय ५५ परिवारलाई राहत वितरण गरेको छ।

चार जनाभन्दा कम सदस्य भएका परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलोग्राम नुन, एक लिटर तेल र दुई साबुन राहत वितरण गरिएको छ। पाँच सदस्यदेखि माथिको परिवारलाई २५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल र दुई साबुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 

पक्की घर नभएको, मोटरसाईकल नभएको, जागिर नभएको, ज्यालादारी, मजदुरी गरेकोलाई मात्र राहत वितरण गर्न मापडण्ड बनाइएतापनि मापदण्ड अनुसार राहत वितरण नभएको गाउँपालिकाले स्विकार गरेको छ। उसले २६ लाख बराबरको राहत वितरण गरिएकोे दावी समेत गरेको छ। गाउँपालिकाले १५ लाखको राहत कोष स्थापना गरेको थियो। कोषको रकममा विभिन्न क्षेत्रबाट आएको सहयोगले गाउँपालिकाले राहत वितरण गरेको हो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस