सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका प्रयोगशालाकर्मीले भने– जोखिम मोलेर काम गर्दा पनि जस पाएनौँ

२०७७ वैशाख ६, ०७:५७ खबर संवाददाता

सेती प्रादेशिक अस्पतालका प्रयोगशालाकर्मीले जोखिम मोलेर काम गर्दा समेत आफूहरु छायामा परेको गुनासो गरेका छन्। प्रयोगशालाकर्मीका तर्फबाट लेखिएको पत्रमा उनीहरुले विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका शंकास्पद विरामीको नमूना संकलन तथा परीक्षणमा प्रत्यक्ष रुपमा खटिने हुँदा आफूहरु सबभन्दा बढि जोखिममा भएपनि जस नपाएको गुनासो गरेका हुन्।

सार्वजनिक पत्रमा भनिएको छ, प्रयोगशालाकर्मीले संक्रमित बिरामीहरुको एकै दिनमा पनि पटक–पटक नमूना संकलन गर्नु परेको अवस्था छ। बिरामीको पहिचानदेखि उपचारसम्मको प्रक्रियामा प्रयोगशालाकर्मीहरुले जाँच कार्य तथा बिरामीको नमूना संकलन कार्यमा जोखिमपूर्ण अवस्थामा छन्। संक्रमणको खतरा पनि बढी छ।

नमूना संकलन गर्दा बिरामी र प्रयोगशालाकर्मी बीचको दुरी शून्य बराबर हुन्छ। बिरामीको घाँटी र नाकबाट स्वाब लिने बेला संक्रमित बिरामीले खोक्ने, हाछ्यु गर्ने, कुनैबेला त उल्टी समेत गर्दछन्। जसकारण संक्रमणको खतरा हर समय रहिरहन्छ।

यस्तै उनीहरुले दिनरात कोरोनाको लडाईमा होमिए पनि मनोबल बढाउने काम कही कतैबाट नभएको गुनासो गर्दै लेखेका छन्, यसरी दिनरात मानसिक युद्धका साथ कोरोनाको लडाईमा होमिएका प्रयोगशालाकर्मीको मनोबल बढाउने काम कही कतैबाट पनि भएको पाइँदैन्।

उच्च जोखिम मोलेर काम गरिरहँदा पनि विभिन्न पत्रपत्रिकाको न्यूज हेर्दा कोरोना संक्रमणको जोखिमको अग्रपंक्तिमा डाक्टर, नर्स मात्रै हुन भन्ने समाचार आउँदा प्रयोगशालाकर्मीहरुको काम गरेर पनि आफुहरुले जस नपाएको हो कि ? जस्तो लाग्छ।

डाक्टर, नर्ससँगै के साच्चिकै प्रयोगशालाकर्मी कोरोना संक्रमणको जोखिमको अग्रपंक्तिमा छैनन् त ?’ सेती प्रादेशिक अस्पतालका प्रयोगशालाकर्मी भनेर उल्लेख गरिएको उक्त पत्रमा कसैको नाम तथा हस्ताक्षर भने छैन्। 

 

 

कमेन्ट लोड गर्नुस