सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मसँग खान पुग्ने खाद्यान्न छ’ भन्दै डडेल्धुराका एक जनाले फिर्ता गरे राहत

२०७७ वैशाख ४, ०४:५५

टेकराज अवस्थी, डडेल्धुरा : देशभर लकडाउन भएपछि यती बेला राहत पाउन विभिन्न खिचातानी भइरहेका छन्। विभिन्न स्थानमा वास्तविक मजदुर तथा विपन्नले राहत पाएनन् भन्ने खबर समेत आइरहेका  छन्। 

तर डडेल्धुरामा एकजना यस्ता ईमान्दार व्यक्ति फेला परेका छन्। जसले आफ्नो परिवारलाई राहतको आवश्यकता नभएको भन्दै पाएको राहत फिर्ता गरे। डडेल्धुराको अमरगढी नगरपालिका– ५ सेलागाउँ निवासी करुणाकर अवस्थीले आफ्नो परिवारले पाएको राहत वडालाई फिर्ता गरेका हुन। 

उनले आफूलाई अहिले राहत आवश्यक पर्ने स्थितिमा नआएकाले राहत फिर्ता गरेको बताए। ‘म बेरोजगार जरुर छु, तर सकेसम्म हामी घरकै खाद्यान्नबाट काम चलाउँछौं’ उनले भने, ‘केही महिनासम्म खान पनि पुगिहाल्छ। अहिले देशमा गम्भिर संकट छ, मैलै किन राहत लिने।’

संकटको बेला राज्यलाई सहयोग गर्ने अवस्था आफ्नो नभएपनि यसरी ब्रह्मलुटको शिकार बन्न आफूले नचाहेको अवस्थीले बताए। ‘परिवारका सदस्यले अरुको लहलहैमा लागेर राहत बुझेर घर लगेछन, मलाई त रातभर निद्रा नै लागेन अनि आज राहत फिर्ता गरे’ उनले भने।   

करुणाकर अवस्थीले करिब १२ सय बराबरको राहत कुपन वडासचिव उषा पन्थीलाई कुपन फिर्ता गरेका हुन। कुपन बुझ्दै वडासचिव पन्थीले इमान्दारीपूर्वक राज्यलाई सहयोग गरेकोमा अवस्थीलाई धन्यवाद दिएकी छन्। 

अहिले खानलाउन पुग्नेहरुले पनि राहत लिएर देशदोहन गरिरहेका  बेला अवस्थीको सन्देश प्रशंसनिय रहेको वडासचिव पन्थीले बताइन। 

जिल्ला सदरमुकाम रहेको अमगढी नगरपालिका वडा नम्बर ५ ले लकडाउनका कारण समस्यामा परेकाहरुलाई कुपनमार्फत राहत वितरण गरिरहेको छ। 

 

कमेन्ट लोड गर्नुस