सेती अस्पतालको प्रसुती वार्डमा आकस्मिक सेवा खुला
धनगढी : आजदेखि अनिश्चित कालका लागि प्रसुती सेवा बन्द गरेको सेती प्रादेशिक अस्पतालले आकस्मिक सेवा भने खुला रहेको जनाएको छ। सेती अस्पतालको प्रसुती विभाग प्रमुख यशोदा ढकालले प्रसुती वार्डमा आकस्मिक सेवा खुला नै राखिएको जानकारी दिईन्।
अस्पताल प्रशासनबाट प्रसुती वार्डबाट आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन आए अनुसार खुला नै राखिएको ढकालले बताईन्। जस अन्तरगत आकस्मिक डेलिभरी सेवा र अप्रेसन मात्र गरिने तर प्रसुतीको नियमित चेकजाँच भने नहुने ढकालले जानकारी दिईन्।
यसअघि अस्पतालले मंगलबार सूचना जारी गर्दै प्रसुती सेवा बन्द हुने जानकारी दिएको थियो। प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शैया आवश्यक रहेकाले प्रसुती सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा भनिएको थियो।
उक्त अवधीमा आमा सुरक्षा कार्यक्रम लागु भएको धनगढीकै नवजिवन अस्पतालबाट सेवा लिन समेत आग्रह गरिएको थियो। तर नवजीवन अस्पतालले भने चाप थेग्न नसकिने बताएको थियो।