सुदूरपश्चिममा कोरोना संक्रमित भेटिएका तीन स्थानीय तह के गर्दैछन ?
धनगढी: कोरोना भाइरस(कोभिड–१९) को संक्रमण नेपालका ९ जना तथा सुदूरपश्चिमका ४ जनामा देखा परिसकेको छ। सुदूरपश्चिममा कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र कञ्चनपुरको बेतकोट नगरपालिकागरि तिन स्थानीय तहका ४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ। संक्रमित चारैको सेति प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ।
कोरोनाको संक्रमण देखा परेको यी तिन वटै स्थानीय तहले बाह्मुलुकबाट आएकाहरुको खोजी गरिरहेका छन्। सुदूरपश्चिममा कोरोना संक्रमित फेला परेका स्थानीय तहले भारत तथा अन्य मुलूकबाट आफ्नो क्षेत्रमा आएकाको खोजी तिव्र पारिएको जनाएका छन्।
नेपालमै सबैभन्दा बढी कोरोना संक्रमितको सङख्या धनगढी उपमहानगरपकालिकामा छ। उपमहानगरपालिकाको वडा नम्वर ५ मा एकै परिवारका दुई जनामा संक्रमण भेटिएको छ। तर उपमहानगरपालिकाले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुलाई अहिलेसम्म पनि क्वारेन्टाइनमा राखेको छैन्।
तर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड भने उपमहानगरपालिकाको क्वारेन्टाइनमा ४२ जना रहेको दावी गर्छन। उनी भन्छन, ‘भारतबाट आएकाको खोजी त तिव्र पारेका नै छौ, संकास्पद केहीलाई क्वारेन्टाइनमा राखिएको छ। अन्य होम क्वारेन्टाइनमा सुरक्षीत बसेका छन्।’ तर उनले भनेका ती ४२ जना सबै भारतीय नागरिक रहेको उपमहानगपालिकाकै तथ्यांकमा उल्लेख छ।
यस्तै दोस्रो संक्रमित भेटिएको कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा १ सय ७५ जनालाई राखिएको छ। त्यहाँ एकजनामा कोरोना संक्रमण देखिपछि उनीसंगैका अन्य ४ जनालाईपनि ल्याव टेष्ट गरेर क्वारेन्टाइनमा राखिएको नगरप्रमुख महादेव बजगाईले बताए। कोरोना संक्रमितसँगै आएका अन्य ४ जनाको ल्याव टेष्ट गरी पठाएका छौ, अन्य रिपोर्ट आउन बाँकी छ’ उनले भने।
उता कञ्चनपुरको बेतकोट नगरपालिकाका पनि एक जनामा कोरोना संक्रमण देखिएपछि नगरवासिलाई घरबाहिर नजान आग्रह गरिएको छ। नगरपालिकाको क्वारेन्टाइनमा २३ जनालाई राखिएको छ। अन्य व्यक्तिमा कोरोनाको संक्रमण नफैलीयोस भन्नका लागि नगरपालिका भित्र भारतबाट आएकाको तथ्याङ्क संकलनगरि शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख अशोक चन्दले बताए।
कोरोना संक्रमितलाई हेलाको दृष्टीकोणले हेर्ने गरेकाले आमनागरिकलाई सम्झाई बुझाई महामारीका बेला अनेक प्रचार नगर्न आग्रह समेत गरिएको उनले बताए। ‘महामारीको समयमा कोरोना संक्रमित भनेर हेला गरेको पाईयो, उनीहरु पनि हामीजस्तै हुन, त्यसो नगर्न नगरवासीलाई सम्झाई बुझाईगरी आत्मबल बढाइरहेका छौ’ उनले भने।
भारत तथा अन्य मुलुकबाट अझै धेरै आएको हुनसक्ने भएकाले उनीहरुको खोजीगरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको नगरप्रमुख चन्दले बताए।