धनगढीमा जडान भईरहेको प्रयोगशालाका थप समाग्री ल्याईयो, आजदेखि परिक्षणको तयारी
धनगढी- धनगढीमा कोरोना भाईरसको नमूना परिक्षणका लागि जडान भईरहेको प्रयोगशालाका थप समाग्री धनगढी आईपुगेको छ। संघिय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाई भईरहेका बेला थप समाग्री ल्याईएको हो।
पशुपन्छी रोग अन्वेशण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रराज बोहराले थप समाग्री नेपाली सेनाको हेलिकोप्टर मार्फत धनगढी ल्याईएको जानकारी दिए। उनले थप समाग्री आएपछि मेसिन जडानको काम जारी राखिएको बताए। केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तिव्रता दिन पठाएको आरटीपीसीआर मेसिन थप उपकरण नभएर जडानमा ढिलाई भईरहेको थियो।
मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिल प्रसाद लेखकले पनि आवश्यक पर्ने समाग्री आईपुगेको बताउँदै जडान सकेर आजदेखि परिक्षणको काम थालिने बताए। यसअघि प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामाग्री खरिद गर्न नसक्दा जडानको काम रोकिएको थियो। प्रदेश सरकारलाई आवश्यक १० बाढि सामान खरिद गर्न भनिएको थियो। अहिले प्रदेश सरकारले नै खरिद गरी थप समाग्री ल्याएको दावी गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको भन्दै संघिय सरकारले बुधवार अर्काे प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो।